काठमाडौं- तीनकुनेमा चार जनाको सामूहिक हत्या प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका व्यक्ति ट्याक्सी चढेर प्रहरी वृत्त बानेश्वरमा पुगेको खुलेको छ।
प्रहरीले शंकास्पद व्यक्ति भनी नियन्त्रणमा लिएका धनकुटा घर भई काठमाडौं-३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई ट्याक्सी चढेर प्रहरीमा पुगेका हुन्।
हत्या घटना ‘जानकारी दिन आएको’ भन्दै उनी बानेश्वरस्थित वृत्तमा पुगेका हुन्। हस्याङफस्याङ गर्दै पुगेका उनको कपडामा रगत लागेको थियो।
‘जानकारी दिन भनी आएका उनलाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गर्ने काम भइरहेको छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने, ‘घटनाबारे अहिले थप विवरण प्राप्त भएको छैन। प्रहरीले अनुसन्धानका विभिन्न विधि र प्रक्रिया अघि बढाएको छ।’
प्रारम्भिक अनुसन्धानमा हत्या भएको ठाउँमा दीपेन्द्र गइरहने गरेको देखिएको छ। तर, घटनाबारे अहिले नै किटान गरेर भन्ने अवस्था नरहेको राठौरले बताए।
दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, उनकी आमा ७० वर्षीया शुभद्रा भुजेल भुजेल र मोरङ बेलबारी घर भएका १९ वर्षीय नवीन राईको शुक्रबार राति हत्या भएको थियो।
दिव्य सःमिलभित्र शुक्रबार ११:५५ बजे चार जनाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उक्त स:मिल दोलखा कालिञ्चोक गाउँपालिका-८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरिरहेका थिए।
हत्या भएकामध्ये ५५ वर्षीय कुमार त्यो काठमिलको गेटपालको रूपमा काम गर्थे। काठ मिलभित्र काठले बनाएको एक तले टहरोमा चारै जनाको हत्या भएको हो।
प्रहरी स्रोतका अनुसार दीपेन्द्र काठ मिलमा आउने-जाने गरिरहन्थे। उनका बुवाले पहिले काम गर्ने र नवीन साथीसमेत रहेका उनको आउजाउ हुने गरेको देखिएको प्रहरीको भनाइ छ।


