काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाका लागि प्रस्थान गरेका छन्। कतार एयरवेजको विमानबाट उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका हुन्।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार दाहाल अमेरिका प्रस्थान गरेका हुन्।
यसअघि उनले विमानस्थलमा बिदाइ ग्रहण गरेका थिए। प्रधानमन्त्री दाहाललाई बिदाई गर्न उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्का विमानस्थल पुगेका थिए।
भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको प्रधानमन्त्री कार्यालयले बताएको छ। टोलीमा प्रधानमन्त्री दाहालको निजी सचिवालयबाट छोरी गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुई जना सुरक्षा गार्ड पनि छन्। प्रधानमन्त्रीले असोज ४ गते महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।

महासभा अन्तर्गत हाई लेभल सेगमेन्ट सेप्टेम्बर १८ देखि २६ सम्म चल्नेछ। उक्त सेगमेन्टमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ। दिगो विकाससम्बन्धी उच्चस्तरीय छलफलमा जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती सामना गर्नेलगायतका सवालमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यसअघि नै अमेरिका पुगिसकेका छन्।
महासभाकै क्रममा प्रधानमन्त्रीले साइडलाइनमा विभिन्न देशका राष्ट्रप्रमुख रसरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरुसँग भेटवार्ताको कार्यक्रम तय गरिएको छ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने रात्रीभोजमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि प्रयासरत नेपालले यसपटक उक्त समूहको अध्यक्षतासमेत गर्नेछ। यसैगरी नेपालले साविक बमोजिम वार्षिक रुपमा आयोजना हुँदै आएका जी-७७ लगायतका बैठकमा समेत भाग लिनेछ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागिता पश्चात मिति असोज ५ गते प्रधानमन्त्री चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। शुक्रबार प्रचण्डले प्रतिनिधिसभालाई चीन र अमेरिका भ्रमणका विषयमा जानकारी दिँदै असोज ५ गतेदेखि चीनको भ्रमण गर्न लागेको जानकारी गराएका हुन्।
‘संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन पश्चात असोज ५ गते छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङ्गजाउ जाने कार्यक्रम तय भएको छ,’ प्रधानमन्त्रीले प्रतिनिधि सभामा भने, ‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिका बीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो।’

नेपालको प्रधानमन्त्रीको हैसियतमा तेस्रो पटक चीन जान लागेका उनले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुनेछ भन्ने विश्वास लिएको बताएका छन्।
हाङ्गजाउमा चिनियाँ राष्ट्रपति महामहिम सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको उनले बताए। सोही दिन १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछन्। त्यस्तै २५ सेप्टेम्बरमा बेइजिङ्गमा समकक्षी महामहिम लि छियाङ्सँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको प्रधानमन्त्रीले जानकारी गराए।
त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ्ग महानगरपालिकामा रहेको छोङछिङ्ग एकेडमी अफ एग्रीकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने पनि उनले बताएका थिए।

छोङछिङ्गको भ्रमण पश्चात नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्। त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको उनले जानकारी दिए।
कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा नेपालका प्रधानमन्त्री पहिलो पटक चीन जान लागेका हुन्। भ्रमणका क्रममा नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुने बताइएको छ। भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुने प्रधानमन्त्रीको भनाइ छ।

‘भ्रमणबाट सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने मैले विश्वास लिएको छु,’ उनले भने। असोज ८ गते उनी नेपाल फर्कने कार्यक्रम छ।



सबै तस्बिरः प्रदीपराज वन्त/प्रधानमन्त्री सचिवालय


