काठमाडौं– राष्ट्रपति कार्यालय शीतलनिवासले ३४ जनालाई माफी मिनाहा गर्नुपर्ने सिफारिसको आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। गृहले मन्त्रिपरिषद्बाट निर्णय भएबाहेक ३४ जनाको सूची पठाएपछि शीतलनिवासले माफी मिनाहा दिनुपर्ने कारण खोजेको हो।
राष्ट्रपति कार्यालयले ३४ जनाकै व्यक्तिगत विवरणसमेत मागेको छ। सरकारले ३ असोजमा पर्ने संविधान दिवस अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिँदै छ।
कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएको थियो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६७० जनाको कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। मन्त्रिपरिषदको निर्णयमा भने राष्ट्रपति कार्यालयले पास गर्नुपर्छ। गृह मन्त्रालयले भने पाँच दिनअघि नै ३४ जनाको सूची पठाएको थियो।
गृहबाट माफी मिनाहाका लागि सिफारिस भएका ज्यानमुद्दा, कर्तव्य ज्यान, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्ति छन्। सजाय पाएका व्यक्तिले पनि माफी मिनाहाका लागि गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ। तर, गृहले सिफारिस गर्दा यस्तो फैसलाको प्रतिलिपि पनि संलग्न नगरेका कारण शीतलनिवासले कारण खोजेको हो।


