काठमाडौं- वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर हेरफेर गरेका छन्। सम्बन्धित बैंकहरूले निक्षेपको ब्याजदर तालिकामा हेरफेर गरिएको छ।
असोजमा प्राइम कर्सियल बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ। प्राइमले मुद्दती निक्षेपमा ११.३५८ प्रतिशत ब्याज दिने भएको छ। हिमालयन बैंक, एभरेष्ट बैंक र नबिल बैंकले समान ११.०५४ प्रतिशतसम्म मुद्दतीको ब्याजदर तोकेका छन्।
सरकारी लगानीका नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकले भने ब्याजदर घटाएका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि मुद्दतीको ब्याजदर घटाएको छ।
भदौमा अधिकतम ब्याजदर कायम गरेका सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक लगायतका बैंकहरुले यस पटक ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा ३ खर्ब ९० अर्ब अधिक तरलता भएपनि बैंकहरुले ब्याजदर बढाएका हुन्।
भदौमा साधारण मुद्दतीको ब्याजदर १०.५० प्रतिशत तोकेको प्राइम बैंकले असोजका लागि ३ महिनाभन्दा बढी अवधिको मुद्दतीको ब्याजदर ११.३५८ प्रतिशत कायम गरेको हो।
सिद्धार्थ बैंकले असोजका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। ३ महिनाभन्दा बढी अवधिका सम्पूर्ण साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम गरेको छ।
यस्तै सिटिजन्स बैंक इन्टरनेसनलले मुद्दती निक्षेपमा १०.८९६ प्रतिशत ब्याजदर तोकेकोमा असोजमा साधारण मुद्दतीको ब्याजदर अधिकतम १०.०५ प्रतिशत तोकेको छ। यस बैंकले संस्थागत मुद्दतीको ब्याजदर ८.०५ प्रतिशत कायम गरेको छ।
यस्तै कुमारी बैंकले पनि ब्याजदर घटाएको छ। भदौ महिनामा साधारण मुद्दतीको ब्याजदर १०.८९६ प्रतिशत तोकेको यस बैंकले असोजमा १०.११ प्रतिशत कायम गरेको छ। यस बैंकले संस्थागत मुद्दतीको ब्याजदर ८.११ प्रतिशत तोकेको छ।
नबिल बैंकले असोजका लागि ३ महिनादेखि ६ महिनासम्म मुद्दती निक्षेपको ब्याजदर १०.०५४ र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपको ब्याजदर १०.५५४ प्रतिशत तोकेको छ। १ वर्षभन्दा बढी अवधिको निक्षेपको ब्याजदर ११.०५४ प्रतिशत तोकेको छ। १ वर्षसम्मको संस्थागत मुद्दती निक्षेपको ब्याजदर यस बैंकले ८.५५४ प्रतिशत र रेमिट्यान्स मुद्दती निक्षेपको ब्याजदर ११.०५४ प्रतिशत कायम गरेको छ।
प्रभु बैंकले भदौ महिनाकै प्रकारको मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत ब्याज दिने घोषणा गरेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ वर्ष अवधिसम्म र सो अवधिभन्दा बढी समयको मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। ३ महिना अवधिसम्मको मुद्दती निक्षेपको ब्याजदर ७.९२ प्रतिशत कायम गरेको यस बैंकले १ वर्षसम्म वा सोभन्दा बढी अवधिको मुद्दतीको ब्याजदर ८.९२ प्रतिशत तोकेको छ।
एनएमबी बैंकले ६ महिनादेखि ९ महिना अवधिको मुद्दतीको ब्याजदर ८.२५ प्रतिशत र ९ महिनादेखि १ वर्ष अवधिको ब्याजदर ८.७५ प्रतिशत तोकेको छ। यस बैंकले १ वर्षदेखि १० वर्ष अविधिको मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। यस्तै सबै प्रकारका संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत तोकेको छ।
माछापुच्छ्रे बैंकले भदौ महिनाको ब्याजदरलाई यो पनि निरन्तरता दिँदै बैंकले ३ महिनादेखि ६ महिनासम्मको साधारण मुद्दती निक्षेपको ब्याजदर ब्याजदर ९ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिको साधारण मुद्दती निक्षेपको ब्याजदर ९.४९ र १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ।
नेपाल एसबीआई बैंकले पनि १ वर्षभन्दा कम अवधिको निक्षेपको ब्याजदर बढाएको छैन। १ वर्षदेखि २ वर्ष अवधिको मुद्दतीको ब्याजदर ९.१० प्रतिशत कायम गरेको यस बैंकले ३ महिनादेखि ६ महिना अवधिको मुद्दतीको ब्याजदर ६.२० प्रतिशत र ६ महिनादेखि १ वर्ष अवधिको मुद्दतीको ब्याजदर ७.२० प्रतिशतलाई निरन्तरता दिएको छ।
हिमालयन बैंकले भने ब्याजदर बढाएर सबै प्रकारको मुद्दती निक्षेपको ब्याज ११.०५४ प्रतिशत तोकेको छ। यस बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.०५४ प्रतिशत कायम गर्दा कायम गरेको छ।
लक्ष्मी सनराइज बैंकले असोज महिनाका लागि सबै प्रकारका साधारण मुद्दतीको ब्याजदर १० प्रतिशत पुर्याएको छ। एभरेष्ट बैंकले पनि ३ महिनाभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर हिमालयन बैंक समान ११.०५४ प्रतिशत कायम गरेको छ।
राष्ट्रिय वाणिज्य बैंकले भदौ महिनाको तुलनामा मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। भदौमा ९.९९ प्रतिशत मुद्दतीको ब्याजदर कायम गरेको यस बैंकले ९.५० प्रतिशतमा झारेको छ। यस्तै साधारण मुद्दतीको ब्याजदर घटेकाले संस्थागत मुद्दतीको ब्याजदर पनि ७.५० प्रतिशत कायम भएको छ। भदौ महिनामा १०.८९६ प्रतिशतसम्म मुद्दती निक्षेपको ब्याजदर तोकेको नेपाल बैंक लिमिटेडले असोज महिनाका लागि घटाएर ९.२९३ प्रतिशत कायम गरेको छ।
यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पनि असोज महिनाका लागि ब्याजदर बढाएको छ। बैंकले ३ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत, ३ महिनाभन्दा बढी ६ महिनासम्मका लागि १०.५ प्रतिशत र १ वर्षभन्दा बढी मुद्दती निक्षेपको ब्याजदर ११.०३ प्रतिशत कायम गरेको छ। यस बैंकले रेमिट बचतको ब्याजदर १२.०३ प्रतिशत र संस्थागत मुद्दतीको ब्याजदर ९.०३ प्रतिशत तोकेको छ।
ग्लोबल आइएमई बैंकले भदौमा सबै प्रकारको साधारण मुद्दती निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत कायम गरेकोमा असोज महिनामा घटाएको छ। असोजका लागि ३ महिनाभन्दा बढी अवधिको साधारण मुद्दतीको ब्याजदर १०.५ प्रतिशत कायम गरेको बैंकले संस्थागत मुद्दतीको ब्याजदर ८.५ प्रतिशत र रेमिट मुद्दतीको ब्याजदर ११.५ प्रतिशत कायम गरेको छ।
