काठमाडौं- स्वास्थ्य मन्त्रालयले आन्दोलनरत् चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ।
मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको हो।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने छन्।
समितिले आन्दोलनमा रहेको नेपाल चिकित्सक संघलाई वार्तामा बोलाइसकेको मन्त्रालयले जनाएको छ।
हेटौंडाको सञ्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएपछि चिकित्सकहरू ओपिडि सेवा बन्द गरेर आन्दोलनमा निस्केका हुन्।
भदौ २७ गते सञ्चो अस्पतालका डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएपछि डाक्टरलाई कुटपिट गरिएको थियो।
कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई प्रहरीले पक्राउ गरिसकेको छ।

