काठमाडौं- सिन्धुलीमा जलेर तीन वर्षीय बालकको मृत्यु भएको छ।
मरिण गाउँपालिका-३ अरुणका बालक मनिष मुक्तानको सोमबार बिहान साढे ८ बजे मृत्यु भएको हो।
प्रहरीका अनुसार बालक अपांगता भएका व्यक्ति थिए।
भान्सा घरमा झुलुङ्गेमा राखेर परिवारका सदस्य खेतमा गएको बेला बालक चुलोमा परेका हुन्।
झुलुङ्गेबाट भुइँमा झरी घिस्रिएर बालक चुलोमा परेको प्रहरीले जनाएको छ।
उनको पिठ्युँ, टाउकोको पछाडिको भाग र पेट जलेको थियो।
परिवारका सदस्य घरमा आउँदा बालक मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।
शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा लगिएको छ।


