काठमाडौँ- तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो छ। दर्शन गर्नका लागि समय पनि बढी लाग्न थालेको छ।
विगतका वर्षभन्दा यस वर्ष बढी व्यवस्थित भएकाले भक्तजनहरुले छिट्टै दर्शन गरेर फर्किनसक्ने अवस्था रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको दाबी छ।
पशुपतिनाथको दर्शनका लागि बिहान ३ बजेदेखि चार वटै ढोका खोलिएका थिए।
दिउँसो चर्को घाम लागेकाले दर्शनार्थीहरू छाता ओढेर लाइनमा बसेका थिए। मन्दिर परिसरमा नाचगान गर्नेहरूको संख्या पनि उल्लेख्य छ।
यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने ब्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था छ।
कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत कार्य गरिरहेको बताएको छ।


















