न्युयोर्क– प्रधानमन्त्री पुष्पकमल दाहालले अतिकम विकसित देशलाई दिइने सहायता बढाउन विकसित देशहरूलाई आग्रह गरेका छन्। नेपाली समय अनुसार सोमबार राति संयुक्त राष्ट्रसंघ अन्तर्गत दिगो विकासका लक्ष्य (एसडीजी)सम्बन्धी सम्मेलनलाई अतिकम विकसित देशहरूको अध्यक्ष राष्ट्रका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
‘विकास सहायत बढाउन र कुल राष्ट्रिय उत्पादनको ०.७ प्रतिशत विकास सहायताका लागि उपलब्ध गराउने प्रतिबद्धता पूरा गर्नका साथै ०.२ प्रतिशत अतिकम विकसित राष्ट्रहरूका लागि छुट्याउन हामी विकसित देशहरूलाई आग्रह गर्छौँ,’ अतिकम विकासित राष्ट्रहरूका तर्फबाट सम्मेलनमा सम्बोधन गर्दै उनले भने। विकसित राष्ट्रहरूले हाल ०.१५ प्रतिशत अतिकम विकसित देशका लागि छुट्याउने गरिएको बताउँदै आएका छन्।
विकसित राष्ट्रहरूले गर्ने सहयोगले अतिकम विकसित देशमा दिगो विकासका लक्ष्य प्राप्त गर्न महत्वपूर्ण हुने उनले उल्लेख गरे। विकसित राष्ट्रहरूले गर्ने सहयोगले नै अतिकम विकसित देशका दिगो विकासका लक्ष्य प्राप्त हुने वा नहुनेमा निर्भर रहने उनको भनाइ थियो।
अतिकम विकसित मुलुकहरूको औसत बाह्य ऋण सन् २०११ मा ४१ प्रतिशत रहेकोमा सन् २०२२ मा ५४ प्रतिशत पुगेको प्रधानमन्त्रीले उल्लेख गरेका थिए। यसले दिगो विकासका लक्ष्यमा काम गर्न लगानी अभाव मात्र नभएर ऋणको संकट बढाउने चिन्ता पनि थपेको उनले बताएका थिए। सन् २०२१ का तुलनामा सन् २०२२ मा प्रत्यक्ष वैदेशिक लगानीमा पनि ३० प्रतिशतले कमी आएको उनले बताएका थिए।
कोभिडको असरका कारण दिगो विकासका लक्ष्य प्राप्त गर्न थप लगानी आवश्यक भएको उनको भनाइ थियो।
