काठमाडौँ– कार्यक्रमका लागि अमेरिका प्रवेश गरेर उतै लुकेकी तिलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर दन्ता नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छन्।
संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगेका प्रचण्डसँग आफूले भेट गरेको भन्दै नेपालीले फेसबुकमा फोटो राखेकी छन्। उनीहरूका साथमा प्रचण्डकी कान्छी छोरी गंगा पनि छन्।
दन्ताले दर्शना नेपाली नामबाट खोलिएको फेसबुक अकाउन्ट चलाउँछिन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक स्वागत। अमेरिकाको बसाई सुखद रहोस्, हार्दिक शुभकामना,’ उनले आइतबार बिहान स्टाटस लेखेकी छन्।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी विजयी बनेकी थिइन्। माओवादीका तर्फबाट उम्मेदवार बनेकी उनले १८५१ मत प्राप्त गरी विजयी बनिन्।
निकटतम प्रतिस्पर्धी कांग्रेसकी लक्ष्मी शाहीले १२६० मत पाएकी थिइन्। २०७६ सालमा कार्यक्रममा सहभागी हुन अमेरिका गएकी थिइन दन्ता तर उतै लुकेर बसिन्।
उपमेयर जस्तो गरिमामय पदमा निर्वाचित जनप्रतिनिधि नै विदेशमा लुकेर बसेको भन्दै उनको आलोचना भएको थियो। त्यसबेला उपमेयर दन्ता सम्पर्कविहीन भनेको भन्दै समाचारहरू सार्वजनिक भएका थिए।


