न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ।
भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यबारेमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ।
यस्तै प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमासँग पनि भेट गरेका छन्।
मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमा र प्रधानमन्त्री दाहालबीच भेट र कुराकानी भएको हो।
न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुवैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो।


