काठमाडौं- कञ्चनपुरको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका अहेबमाथि हातपात भएको छ।
मंगलबार राति उपचारको क्रममा केन्द्रमा कार्यरत् अहेब नरेन्द्र गैरेमाथि हातपात भएको हो।
बिरामीलाई उपचार गरिरहेका बेला राति १२ बजेतिर गैरैमाथि हातपात भएको बेलौरी नगरपालिका स्वास्थ्य शाखा संयोजक जयसिंह बोहराले बताए।
बिरामीसँग कुनै सरोकार नै नभएका बेलौरी नगरपालिका–२ निवासी रामुसिंह खड्काले गैरेमाथि हातपात गरेको बुझिएको छ।
मंगलबार साढे ११ बजेतिर बेलौरी नगरपालिका–५ का शंखु चौधरीलाई उपचारका लागि स्वास्थ्य केन्द्र ल्याइएको थियो। चौधरीको अनुहारमा चोट थियो।
अनुहारमा टाँका लगाउँदा मसिनो खालको धागो चाहिने भएकाले सो धागो स्वास्थ्य केन्द्रमा नभएको अहेब गैरेले बिरामीका आफन्तलाई बताएका थिए।
गैरेले आफैं पैसा दिएर त्यो धागो किनेर ल्याउन पठाएका थिए।
‘यति धागो पनि नहुने’ भन्दै जंगिएका खड्काले अहेबको घाँटी न्याकेको भिडिओमा देखिन्छ।
स्वास्थ्यकर्मीमाथि कुटपिट भएको उक्त भिडियो अहिले सामाजिकमार्फत् बाहिरिएको छ।
बोहोराका अनुसार गैरेमाथि हातपात गर्ने खड्का कुनै कामबिना नै स्वास्थ्य केन्द्रमा आएका थिए।
पीडित स्वास्थ्यकर्मी गैरेले खड्काविरुद्ध बुधबार बिहान इलाका प्रहरी कार्यालय बेलौरीमा उजुरी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खड्काको खोजी भइरहेको जनाएको छ।


