काठमाडौं- सामाजिक सञ्जालको माध्यमबाट ठगी गर्ने क्रम बढेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार फेसबुक, भाइबर, इमो, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटकबाट ठगी गर्ने क्रम बढेको हो।
त्यस्ता सञ्जालहरूमा उपहार तथा पार्सल पठाएको, बैंक तथा वालेटको कर्मचारी हुँ भनी ओटिपी कोड माग्ने गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।
‘डलर देखाएर नेपाली पैसा साट्ने, विदेश पठाउने/बोलाउने बहानामा ठगी गर्ने कार्य पनि बढेको छ,’ रेग्मीले भने, ‘त्यस्तो झुटो आश्वासन र प्रलोभनयुक्त गैरकानुनी कार्यबाट सावधान रहनुपर्ने अवस्था छ।’
रेग्मीले व्यक्तिगत विवरण, बैंक विवरण, ओटिपी कोड, पिन कोड, सेक्युरिटी कोडहरू कसैले मागे होसियार रहनुपर्ने बताए।
कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी यस्ता कार्यबाट सचेत गर्न आग्रहसमेत गरेको छ।


