काठमाडौं- भदौ २९ गते बेलुका ९ महिनाकी छोरी ऋतुसँग सुतेकी थिइन् सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर २ की २९ वर्षीया रेवती थापा।
श्रीमान् सुकलाल थापा वैदेशिक रोजगारीको सिलसिलामा भारत थिए।
नाबालक छोरीसँग सुतेकी रेवती राति १० बजे चिच्याएको आवाज सुनिएको थियो। रेवतीको नजिकै दुई घर मात्रै थिए।
तर, ‘केही पर्यो भने फोन गर्लिन्’ भन्दै वास्ता गरेनन्। उनीहरू महिला मात्रै थिए।
अघिल्लै दिन चिच्याएको आवाज सुनेका छिमेकी महिलाहरू बिहान ६:५० बजे नै रेवतीको पुगे। ढोका खोलेर हेर्दा दुबै जलेको अवस्थामा मृत भेटिए।
टिनले छाएको एक तले कच्ची घरमा आगलागी भएको देखिन्थ्यो। आगलागीबाट लत्ताकपडाहरू जलेका थिए। रेवतीका आमाछोरीको शरीरको विभिन्न भाग र हातसमेत जलेको थियो।
दृश्यले संकेत दिन्थ्यो अथवा धेरैले लख काट्ने आधार थियो – आगलागीमा परेछन्।
खबर प्रहरीमा पुग्यो। बिहान करिब ७:५० बजे प्रहरी रेवतीको घरमा पुग्यो। जिल्ला प्रहरी कार्यालय सल्यान, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरीहरू घटनाको अनुसन्धानमा निस्किए। तालिमप्राप्त कुकुरसहितको टोली परिचालन भयो।
कुकुरसहितको टोलीले अनुसन्धान गर्दै जाँदा उक्त घटना भवितव्य नभएको भेट्न थाल्यो। घटनाको पृष्ठभूमिमा रेवतीका पूर्वप्रेमी देखिए।
उनी थिए सिद्कुमाख गाउँपालिका-२ खानीगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेत। बस्नेत बुधबार पक्राउ गरेपछि भने घटना छ्याङ्ङ भएको छ।
बस्नेत विवाहित हुन्। उनका एक छोरा, एक छोरी पनि छन्। उनी रेवतीको हत्या गर्नका लागि पाँच वर्षपछि दुबईबाट फर्किएको समेत खुलेको छ।
उनी विगत १० वर्षदेखि वैदेशिक रोजगारीमा थिए। तीन वर्ष मलेसिया, दुई वर्ष भारतपछि दुबई पुगेका थिए।
दुबईबाट उनी भदौ २६ गते मात्रै फर्किएका थिए। घर फर्किएर दुई दिन बसेपछि उनी पेट्रोल लिएर रेवतीलाई सिध्याउन हिँडेको पाइएको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए।

कसरी भएको थियो घटना?
बस्नेत २६ गते काठमाडौंबाट सल्यान शिद्धकुमाख-२ खानीगाउँस्थित घरमा दुई दिन बसे।
योजना उही थियो – रेवतीलाई सिध्याउने। तारतम्य मिलाउन उनी शनिबार श्रीनगर बजारसम्म गाडी चढेर पुगे।
पेट्रोल र सलाई किने पैदल सरासर रेवतीको गाउँ पुगे।
‘साँझमै उक्त गाउँ पुगे पनि सडक र जंगलमा टहलिँदै राति मात्रै रेवतीको घर पुगेको देखिन्छ,’ कार्की भन्छन्।
बस्नेत राति ९:५० बजे रेवतीको घरमा पुगेका थिए। ढोका ढकढक गरे। उघार्दा रेवतीले ढोकामा आफ्ना पूर्वप्रेमी उभिइरहेको देखिन्।
उनले आफूले प्रेम गरेको व्यक्ति काल बनेर आएको छ भन्ने सोच्नै भ्याइनन्। ढोकाबाट भित्र पसेपछि बस्नेत रेवतीमाथि खनिए।
रेवतीको घाँटी कपडाले कसेर लडाए अनि शरीरमा पेट्रोल छर्की आगो लगाए। आगोले रेवतीसहित ओछ्यानमा सुतिरहेकी ९ महिनाकी छोरी ऋतु जलिन्।
घटना घटाएर उनी नजिकै एउटा घरमा बास बसे। बिहान सबेरै ३/४ बजे उठेर त्यहाँबाट आफ्नो घर शिद्धकुमाख-३ तर्फ फर्के।
कार्कीका अनुसार उनी बास बस्नुले नै अनुसन्धानलाई सहज बनाइदियो। कुकुरले सुँघ्दै इशारा गर्दै जाँदा प्रहरीले त्यो घर पत्ता लगायो।
त्यहाँ कुनै अपरिचित व्यक्ति आएर बसेको खुलिहाल्यो। ती मानिसको हुलियाअनुसार खोजी गर्ने क्रममा बस्नेत पक्राउ परे।
अश्लील फोटो/भिडिओले खटपट
कर्णबहादुर र रेवतीको सात वर्षअगाडि फेसबुकमार्फत् चिनजान भएको थियो।
कुराकानी हुँदै जाँदा उनीहरूबीच प्रेम सम्बन्ध रहन गयो।
निरन्तरको प्रेम सम्बन्धपछि पटक-पटक शारीरिक सम्बन्धसमेत भयो। बस्नेत विवाहित भएको थाहा हुँदाहुँदै पनि रेवती उनीसँग बिहे गर्नसम्म तयार भइसकेकी थिइन्।
शारीरिक सम्बन्धको क्रममा उनीहरू सहमतिमा अश्लील तस्बिर र भिडियोसमेत खिच्ने गर्थे।
यो क्रम चलिरहेकै बेला बस्नेत वैदेशिक रोजगारको सिलसिलामा सन् २०१८ मा दुबई गए।
दुबईमै रहेको बेला रेवतीले सुकलालसँग बिहे गरिन्।
‘रेवतीले बिहे गरेको विषय कर्णबहादुरले ठूलो धोका दिएको र इगोको रुपमा लिएको देखिन्छ,’ कार्कीले भने, ‘किनभने, घरमा श्रीमती-छोराछोरी हुँदै उनी रेवतीसँग बिहे गर्न तयार भएका थिए।
रेवतीले विवाह गरे करिब दुई वर्षअगाडिसम्म बस्नेतसँग विभिन्न माध्यमबाट पुनःसम्बन्ध स्थापित भएको देखिएको छ। पुरानो इगो र शारीरिक सम्बन्धको क्रममा सहमतिमा लिइएका अश्लील तस्बिर र भिडियोको विषयमा रेवती र बस्नेतबीच ठूलो मनमुटाव सुरू भएको अनुसन्धानमा देखिएको छ।
फोटो र भिडियोकै कारण श्रीमानसँग रेवतीको झगडासमेत भएको थियो।
त्यो विषय बढ्दै जाँदा करिब आठ महिना अगाडिबाट बस्नेतले दुबईमै रहेको बेला नेपाल फर्किने साथ हत्या गर्ने योजना बनाएका थिए।
करिब चार महिनाअगाडि नै हत्या गर्नकै लागि उनले कम्पनीमा बिदासमेत मागेका थिए। तर त्यसबेला बिदा पाएनन्।
यस पटक दुबईबाट भदौ २६ गते फर्किनासाथ हत्या गरेको कार्कीले बताए।
प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार बस्नेतलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धानका लागि बिहीबार ६ दिन थुनामा राख्न अनुमति लिइएको छ।


