काठमाडौँ– संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सेनामा खटिने नेपाली सेनाको प्रशंशा गरेका छन्। शान्ति सेनामा सुरक्षाकर्मी खटाउने दोस्रो ठूलो देश नेपाल भएको उल्लेख गर्दै उनले नेपाली सेनाको प्रशंशा गरेका हुन्।
‘शान्तिसेनामा सुरक्षाकर्मी परिचालन गर्ने संख्याका आधारमा अहिले हामी विश्वको दोस्रो ठूलो देश हौँ,’ प्रधानमन्त्री दाहालले भनेका थिए, ‘सबैभन्दा जोखिमपूर्ण मानिएको अवस्थामा कुनै डर नमानी हामीले सुरक्षाकर्मीहरू पठाइरहेका छौँ।’
शान्तिसेनामा खटिजाने नेपाली सुरक्षाकर्मीले काममा पेसाप्रतिको प्रतिबद्धता र कार्यदक्षता प्रमाणित गरेर देखाएको भन्दै प्रधानमन्त्रीले प्रशंशा गरेका थिए।
शान्तिसेनामा सुरक्षाकर्मी खटाएर नेपालले संयुक्त राष्ट्रसंघप्रतिको आस्था र बहुपक्षीयतामा अटल रहेको अर्थ्याएको पनि उनको भनाइ थियो।
प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम भएका उल्लेख गर्दै आफूहरू शान्ति प्रक्रियाका बाँकी कामलाई पनि अन्तिम निष्कर्षमा पुर्याउने प्रक्रियामा रहेको उल्लेख गरेका थिए। नेपालको शान्ति प्रक्रिया मौलिक भएकाले आफूहरूले टुंग्याएको शान्ति प्रक्रियालाई विश्वसमुदायले पनि स्वीकार गर्नुपर्ने बताएका थिए।



