कपिलवस्तु- जगदीशपुर ताल पाहुना चराको चहलपहलले मनमोहक छ। तालमा चराका चिरविराहट, वात्सल्य प्रेम, जलक्रिया र आहारविहारका दृश्यले तालमा आउने पर्यटकलाई आह्लादित बनाउने गरेको छ।
मुलुकमै सबैभन्दा धेरै पानीचरालाई आश्रय प्रदान गर्दै आएको जगदीशपुर तालमा पानीचरा भने घट्दै गएका छन्। पछिल्लो तीन वर्षको तथ्यांकले पानीचराको संख्या क्रमशः घट्दै गएको देखाएको हो।
सन् २०२२ को तुलनामा २०२३ मा ४ प्रतिशत चरा घटेका छन्। २०२१ को तुलनामा २०२२ मा २३ प्रतिशत चरा घटेका थिए। २०२३ मा ९ हजार ४८७ चरा गणना गरिएको छ। २०२२ मा ९ हजार ८ सय ३७ चरा गणना गरिएको थियो।
सन् २०२१ मा यहा १२ हजार ६३ चरा गणना गरिएको थियो। २०२० मा यहाँ २० हजार ८ सय ७ चरा गणना गरियो। २०१९ मा १४ हजार ९ सय ८० गणना गरिएको थियो।
वेटल्यान्ड इन्टरनेसनलको संयोजनमा नेपालमा सम्पन्न पानीचरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बराल नेतृत्वमा रहेको टोलीले चरागणना गरेको थियो। टोलीमा विज्ञहरू टीका गिरी, डिबी चौधरी र धीरज चौधरी थिए।
१ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको तालमा यस वर्ष ४४ प्रजातिको चरा गणना गरिएको छ। तालमा सबैभन्दा धेरै ४ हजार बढी मरुल छन्। त्यसपछि सुनजुरे हाँस एक हजार ९३० र बिजुलागैरी ९ सय ३० वटा छन्। सिलसिले, सानो जलेवा र ठूलो जलेवा पनि छन्। श्वेताखीभौं, नादुन र कैलो टाउके हाँस पनि छन्। त्यस्तै सुइरोपुच्छ्रे, चखेवाचखेवी, बेल्चा ठुडे, हरिहाँस, बगाले सिमकुखुरा, सुइरोठूडे, मालक र हरियो टाउकेहाँसलगायत पनि यसपालि गणना गरिएको छ।
कपिलवस्तु नगरपालिका ९ र १० मा पर्ने ताल सन् २००३ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत भएको थियो । जैविक विविधता, सीमसार र चराकाकारण महत्वपूर्ण हुँदा स्विट्जरल्यान्डस्थित रामसार सचिवालयले सूचीकृत गरेको थियो । कृत्रिम रुपमा बनेको जगदीशपुर मुलुकको सबैभन्दा ठूलो ताल हो।
चीन, मंलिया, साइबेरिया, तुर्किस्तानलगायतका देशबाट तालमा चरा आउने गरेका छन्। चराविद्हरूका अनुसार तालमा केही चरा सात हजार किलोमिटरको यात्रा गरेर पनि आइपुग्छन्। खुल्ला ठाउँ र चराको लागि पर्याप्त आहारा पाइने नदी एवं तालहरु धेरै भएकोले चराहरुको आकर्षण यो क्षेत्रमा बढेको हो।
१० वटा सीमसार क्षेत्रहरु मध्ये नेपालमा चरालाई आहाराको हिसाबले सबैभन्दा सहज ठाउँ हो जगदीशपुर ताल क्षेत्र। यहाँ आउने धेरै चराहरु आहाराको लागि त्यसैको आसपासमा रहेका सानातिना नदी एवं तलाउहरुमा जाने गर्छन्।
यही चराहरुको गतिविधि हेर्न पर्यटक आउने भएकोले लुम्बिनी सरकारले ताललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना बनाउँदै आएको छ।















