काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले सरकारमा सहभागी भएका नेपाली कांग्रेसका मन्त्रीहरूले राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन्। सरकारमा बस्नुलाई मात्र उपलब्धि मान्न नसकिने उनको भनाइ छ।
पार्टीबाट मन्त्री बनेकाहरूले जनताको पक्षमा नतिजा देखिने गरी काम गर्नुपर्नेमा जोड दिए। ‘अर्थ मन्त्रालय हाम्रै नेतृत्वमा छ। तर अर्थतन्त्रमा सुधार आइरहेको छैन। साना व्यवसायीहरू सटर बन्द गरेर हिड्न बाध्य छन्। सुधारको पहल गर्न सकेको देखिएन,’ उनले भने।
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै पौडेलले सरकारमा बस्दा पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए। ‘गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन, सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो-यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्यो,’ देउवालाई आग्रह गर्दै उनको भनाइ छ।
पौडेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको, खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी बढ्दा पनि अनुगमन नभएको उल्लेख गरे।
नेता पौडेलले पार्टीका भ्रातृ संस्थाहरूको अधिवेशनको सुनिश्चितता गर्न समेत माग गरे। पौडेलले प्रश्न गर्दै भने, ‘यो बैठकमा भ्रातृ संस्थाहरूको अधिवेशन हुने वातावरणको सुनिश्चित गर्नकालागि म आग्रह गर्न चाहान्छु। सभापतिज्यूलाई मेरो प्रश्न छ, पार्टीका भ्रातृ संस्थाहरूको अधिवेशन हुन्छ कि हुँदैन?’


