काठमाडौँ- चमेली समूहको विरोधलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले बेवास्ता गरिदिएका छन्।
नागरिकमाथि महानगरले गरेको अत्याचार भन्दै युवा अभियन्तासमेत रहेका चमेली समूहका ई:लगायतले असोज २ गतेदेखि उभिएर गरेको विरोधलाई बालेनले बेवास्ता गरिदिएका हुन्।
महानगरले निरीह नागरिकमाथि अत्याचार गरेको, फुटपाथ व्यापारीका सामग्री कब्जा गरेको र विना कुनै वैकल्पिक व्यवस्था सुकुम्बासीका घरघर पुगेर भत्काइदिएको/भत्काइदिने चेतावनी दिने लगायतका काम रोक्नका लागि युवाहरूले चमेली समूह गठन गरी विरोधका कार्यक्रम अघि बढाएका हुन्।
सुरुमा ७७ घण्टा महानगरपालिका अगाडि उभिएर आन्दोलन सुरु गरेका थिए। तर उक्त समयमा बालेनले कुनै प्रतिक्रिया नदिएपछि बढाएर १२३ घण्टा पुर्याएका थिए।
उक्त समय आज समापन हुँदैछ। तर महानगर र मेयरले ईको विरोधप्रति कुनै प्रतिक्रिया जनाएका छैनन्। महानगरले प्रतिक्रया नदिए १९९ घण्टासम्म विरोधको कार्यक्रमलाई निरन्तरता दिने उनीहरूको भनाइ छ।
चमेली समूले राष्ट्रिय सभा गृहअगाडि उभिएर विरोध गरिरहेको छ। मञ्जुल र रामेशको गीत ‘गरिबको चमेली बोल्दिने कोही छैन’ रिमिक्स भर्सनमा बालेनले निकालेका थिए। त्यही गीतप्रति व्यंग्य गर्दै ईलगायतले चमेली अभियान चलाएका हुन्।












