काठमाडौँ– मधेशबाट पैदलै काठमाडौं आएका मिटरब्याज पीडितले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा पीडितले सुनाएका पीडा प्रधानमन्त्री दाहालले सुनेका थिए।
पीडितले मिटरब्याजीको दुश्चक्रबाट आफूहरूलाई मुक्त गर्न माग गरेका थिए। मिटरब्याज पीडितका समस्या सुनेपछि प्रधानमन्त्री दाहालले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
मिटरब्याजीलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले ऐन संशोधनको प्रक्रिया अघि बढाएको प्रधानमन्त्रीको भनाइ थियो। ‘तत्काल समाधान गर्ने गरी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्री दाहालको भनाइ थियो।
‘मिटरब्याजी समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल फिल्डमा गएर कारबाही गर्नसक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्नसक्ने आयोग बनाइनेछ। त्यो प्रक्रिया अघि बढिसकेको छ,’ मिटरब्याज पीडितसँग प्रधानमन्त्री दाहालले भने, ‘यसअघि जस्तो आयोग बन्ने, प्रतिवेदन बुझाउने र त्यो थन्किने जस्तो होइन, यो आयोग र्यापिड एक्सन फोर्स जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पूर्जी काट्ने र कारबाही गर्ने खालको होस् भनेर निर्देशन दिएको छु।’
मार्च गर्दै राजधानी आएको भन्दै प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूलाई धन्यवाद दिएका थिए। ‘तपाईंहरू यसरी पैदल हिँडेर काठमाडौं आउनुभयो। तपाईंहरूको समस्या राष्ट्रिय रूपमा सुनियो। अहिले पनि हाम्रो समाजमा यस्तो शोषण बाँकी नै छ भन्ने कुरा राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा समेत सबैले थाहा पाए। तपाईंहरूलाई धन्यवाद छ,’ उनले भने।


