काठमाडौं- नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन सोमबार उद्घाटन हुँदैछ।
उद्घाटनका लागि एमालेले काठमाडौंका ६ ठाउँबाट र्याली निकाल्दै छ।
अधिवेशनले २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहितको कमिटी चयन गर्नेछ । अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।
एमालेले प्रदेशहरुमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनलाई जोड दिँदै आएको छ। लुम्बिनी प्रदेशमा दुईवटा प्यानलै बनाएर चुनाव भएपछि त्यसको प्रभाव बागमतीमा पनि परेको छ।
एमालेमा अहिले एमालेभित्र भूगोलैपिच्छे फरक–फरक गुट–उपगुट निर्माण भएका छन्। उनीहरूले आ-आफ्नो ठाउँबाट गुटगत राजनीति गरिरहेका छन्।
लुम्बिनी अधिवेशनमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका गुटबीच प्रतिस्पर्धा भएको थियो।
बागमती प्रदेशमा भने केपी शर्मा ओलीको निकट हुने प्रतिस्पर्धा गरिरहेका गोकुल बाँस्कोटा र महेश बस्नेत समूहको आ-आफ्नै गुटलाई अघि सार्ने र उनीहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
पोलिट्ब्युरो सदस्यद्वय बास्कोटाले आफ्नो समूहबाट अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाललाई मैदानमा उतार्ने तयारी गरेका छन्।
दाहालको समूहबाट उपाध्यक्षमा धादिङका भूमी त्रिपाठी र ललितपुरका नवराज सिलवालमध्ये एकजना उम्मेदवार हुने आकलन एमाले नेताहरूको छ।
बस्नेतले भने अध्यक्षमा रामेछापका कैलाश ढुंगेललाई अघि सार्ने तयारीमा छन्। ढुंगेलको समूहबाट उपाध्यक्षमा भने चितवनका दावादोर्जे लामा चुनाव लड्ने छन्।
नेकपा एसमा गएर फर्केका सिन्धुपाल्चोकका सुवास कर्माचार्य, सिन्धुपाल्चोककै हस्त पण्डित र चितवनका कृष्णभक्त पोखरेलको नाम चर्चामा छ।
बागमतीमा प्रभावशाली मानिने ‘दश बुँदे’वालाका नेता सुरेन्द्र पाण्डेनिकट कर्माचार्य र पोखरेल तानातानमै छन्।
अध्यक्षकै लागि नुवाकोटका नेता एवम् अहिलेको प्रदेश अध्यक्षसमेत रहेका केशव पाण्डे, दोलखाकी नेतृ रचना खड्का र काठमाडौँका सानुकुमार श्रेष्ठलगायतले रहर गरेका छन्। तर उनीहरूको अडान दर्बिलो बन्ने सम्भावना कम छ।
चुनाव हुने अवस्थामा दाहाल र ढुंगेल नै मैदानमा हुने सम्भावना छ। उनीहरुले आफू अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक उम्मेदवार भएकोसमेत बताउँदै आएका छन्। तर, अध्यक्ष ओलीले भने अहिलेसम्म कसैलाई कुनै सिग्नल दिएका छैनन्।


