काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकताविहीनलाई नागरिक बनाउने विधेयक प्रमाणीकरण गर्न पाउनु आफ्नो लागि अविस्मरणीय भएको बताएका छन्।
जनकपुरमा सोमबार आयोजित नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको भवन उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले नागरिकता विधेयकले नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाएको बताए।
‘नागरिकता लिनबाट वञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्र्ने अवसर पाउनु मेरा लागि अविस्मरणीय रहनेछ,’ उनले भने।
राष्ट्रपति पौडेलले नेपालको राष्ट्रिय एकताको चुरो मधेशमा रहेको भन्नेमा आफू सधैँ दृढ रहेको उनको भनाइ छ। समथर फाँट रहेको अन्नभण्डार मधेश प्रदेशको समग्र विकास, उन्नति र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग्र समृद्धि र राष्ट्रिय एकता सुदृढ हुने आफ्नो सधैँको अटल विश्वास रहेको स्पष्ट पारे।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेशलाई अधिकार नदिएको गुनासो गरेपछि राष्ट्रपति पौडेलले प्रदेशलाई अधिकार दिन नेताहरूले कन्जुस्याईँ गरेको धारणा राखे।
‘हामीले संघीयता तल्ला तहलाई अधिकार दिन ल्याएको हो, तर भन्नैपर्छ अधिकार दिन कञ्जुस्याई भएकै हो, अब म तीन दलका प्रमुख नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालको अध्यक्ष केपी ओलीलाई बोलाएरै भन्छु, यो जनताको आवाज हो जनतलाई अधिकार दिल खोलेर दिनुपर्छ,’ उनले भने।
राष्ट्रपति पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा, अहिंसा र निष्ठाका पुञ्ज आदरणीय महेन्द्र नारायण निधिको नाममा स्थापित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्ने अवसर पाउनु आफ्ना लागि गौरवको विषय भएको उनले उल्लेख गरे।


