विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरेका छन्।
सोमबार दुई जना मन्त्री र दुई राज्यमन्त्री थपेर मुख्यमन्त्री कार्कीले ९ सदस्यीय मन्त्रीमण्डल बनाएका हुन्। यद्यपि यी सबै मन्त्री एमालेका मात्रै हुन्।
राप्रपालाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री कार्कीले प्रयास गरेपनि उसले इन्कार गर्दै आएको छ। मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने दर्बिलो आधार नदेखेपछि राप्रपाले सरकारमा सहभागी हुने विषयलाई गौण बनाएको हो।
यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको छ। पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन्।
एकराज कार्की भौतिक पूर्वाधार, लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री, बुद्धिकुमार भण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्रीमा नियुक्त भएका छन्। अधिकारी र राजभण्डारी नयाँ मन्त्री हुन्।
रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री, सिर्जना राई सामाजिक विकास राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका छन्।
कार्कीले असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ। हालसम्म एमालेबाहेकका दल सामेल भएका छैनन्।


