काठमाडौँ- नेकपा माओवादी (केन्द्र)को केन्द्रीय स्वास्थ्य विभागका सदस्य डा दीपक प्रसाद कोइरालाले पार्टीबाट राजीनामा दिएका छन्।
डाक्टर पिटिएको विषयमा असन्तुष्टि राख्दै डा कोइरालाले गैरजमानती हिरासतको कानुन नबनेसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन्।
२०६३ सालदेखि पार्टी निरन्तर सदस्य रहेको तर आफ्नै पार्टीको गृहमन्त्री र प्रधानमन्त्री हुँदासमेत आफ्नै दलनिकट स्वास्थ्यकर्मीहरू पिटिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल प्रगतिशील चिकित्सक संघ गण्डकी प्रदेशको संयोजक समेत रहिसकेका डा कोइराला पार्टीसँगको सबैखाले आबद्धता त्याग गरेको उल्लेख गरेका छन्।
‘आपनै पार्टीको प्रधानमन्त्री र गृहमन्ती हुँदा उपचार गर्ने चिकित्सकले पिटाइ खानु दिनचर्या भएको, प्रहरीले उल्टो गुण्डा गढ़ी गर्ने लाई जोगाएर डाक्टरमाथि लाठीचार्ज गर्नु र कानूनी राज्यको उपहास हुनु मलाइ सह्य भएन,’ उनको राजीनामा पत्रमा उल्लेख छ।
माओवादी पार्टीकै गृहमन्त्री भएको बेलला माओवादी निकट नेपाल प्रगतीशिल चिकित्सक संघ, गण्डकी प्रदेशका अध्यक्षलाई हिरासतमा राखिएको विषयलाई पनि उनले लज्जास्पद भनेका छन्।
‘म यस (माओवादी) पार्टीको सदस्य हो भन्दा आत्मग्लानी महसुस हुन थालेको छ,’ उनको राजीनामा पत्रमा उल्लेख छ। आफूले दल त्याग गरेपनि अन्य कुनै राजनीतिक दलमा आबद्ध नहुने उनको भनाइ छ।
चिकित्सकहरुकले लामो समयदेखि गैरजमानती हिरासतको माग गर्दै आएका छन्। चिकित्सकहरुमाथि हातपात गर्नेहरूलाई धरौटीमा रिहा गर्नुको सट्टा जेल नै पठाउनुपर्ने कानुन कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरुको माग छ। यसका लागि उनीहरूले ‘जेल विथआउट बेल’ अभियान नै चलाएका छन्।
सोमबार मात्रै पोखरास्थित मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात भएको थियो। बिरामीको मृत्यु भएको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा तोडफोड समेत भएको थियो।
उपचारको क्रममा लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले डाक्टरहरूमाथि हातपात गरेका थिए।
डाक्टरहरूमाथि भौतिक आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।
भदौ २८ गते मकवानपुरको हेटौँडास्थित सञ्चो अस्तपालमा ड्युटीमा खटिएका दुई जना डाक्टर कुटिएका थिए। पछि स्थानीय स्तरमा नै मिलापत्र गरी सामसुम पार्ने प्रयास गरिएपनि नेपाल चिकित्सक संघको अगुवाईमा आन्दोलन सुरु भएपछि सरकारले कारबाही गर्ने प्रतिबद्धता गरेको थियो।
यस्तो छ डा कोइरालाको राजीनामा पत्र



