पोखरा- पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर डाक्टरमाथि कुटपिट हुँदा सोमबार अबेरसम्म अशान्त रह्यो।
लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्त भनिएका पोखरा ५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङले चिकित्सक अनिल शाहमाथि कुटपिट गरेपछि मणिपालको शान्तपूर्ण वातावरण हराएको थियो।
डा. शाहले ‘होहल्ला नगरिदिनुस्, अरु बिरामीलाई डिस्टर्ब हुन्छ’ भन्नासाथ गुरुङले उनीमाथि प्रहार गर्न सुरु गरेका थिए।
त्यसपछि, प्रहरी बोलाइयो। प्रहरीले कुटपिट गर्ने गुरुङलाई नियन्त्रणमा लिए। गुरुङले प्रहरीकै बीचबाट सबैलाई पालैपालोसँग फोन गर्दै केटाहरुको ठूलो समूह बोलाएको मनिपालमा अध्ययनरत प्रत्यक्षदर्शीले बताए।
‘डाक्टरमाथि कुटपिट भएपछि हामीले सुरक्षाका लागि प्रहरी बोलाएका हौँ,’ उनी भन्छन्।
प्रहरी आएपछि कुट्ने व्यक्तिलाई कोठामा लगे। मोबाइल नियन्त्रणमा लिनुपर्ने थियो तर लिइएन।
‘डाक्टर कुट्ने व्यक्तिले प्रहरीकै अगाडि सबैलाई बोलाए। प्रहरी सुनेर बसिरह्यो,’ उनी भन्छन्, ‘पछि ठूलो समूह आयो। अस्पतालमा तोडफोड गर्यो।’
राति अबेरसम्मै मृतकका आफन्त र उनको समर्थनमा पुगेका युवाहरुको ठूलो भीड अस्पतालमा थियो।
इन्स्पेक्टर मदन श्रेष्ठले भीडमा पुगेर अपशब्द बोल्दै भने – ‘डाक्टरलाई साफ चुटेर आएँ, सबलाई ढुटो बनाएर रगतै रगत बनाएर आएँ।’
चिकित्सकहरुले भने डाक्टरमाथि हातपात गर्नेमाथि मुद्दा चलाउनुपर्ने माग राख्दै प्रहरी र प्रशासनमा दबाब दिइरहेका थिए।
‘प्रहरीले डाक्टर पिट्नेहरुलाई बाहिर निकाल्न पर्ने थियो। तर मूकदर्शक बनिदियो,’ मणिपालका ती विद्यार्थी भन्छन्।
भिड नियन्त्रण भइरहेकै थिएन। सहकर्मी चिकित्सक पिटिएको भन्दै डाक्टरहरूले पनि नारा लगाउन थाले। प्रहरीले चिकित्सकमाथि लाठी वर्षाउन थाल्यो।
दिउँसोदेखि नै जिल्ला प्रशासनको समन्वयमा अस्पताल व्यवस्थापन, पीडित परिवार र चिकित्सकबीच वार्ता बसिरहेको भए पनि टुंगो लाग्न सकेको थिएन। प्रहरी डाक्टरमाथि बल प्रयोग गर्ने मनशायमा पुगेपछि वातावरण झन् बिथोलियो।
युवाहरू समूहले होहल्ला गर्दै सामानहरु फुटाउने, हेल्मेटले हान्ने, सीसा फोड्न थाले।

नर्स, चिकित्सकहरु निकै अत्तालिए। प्रहरीले वार्डवार्डमै पुगेर चेकजाँच डाक्टरलाई थर्काउन थाल्यो।
प्रहरीले डाक्टर दिनेश कुमार विकलाई कुटपिट गरेर नियन्त्रणमा लियो। पछि चिकित्सकहरु झनै आन्दोलित भए। डाक्टरको संरक्षणका लागि पुगेको प्रहरीले नै उल्टै डाक्टर कुटेपछि झनै माहौल बिग्रिएको थियो।
प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले नै डाक्टर कुटेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ।
इन्स्पेक्टर मदन श्रेष्ठले आक्रोशित भीडसामु गएर अपशब्द बोल्दै डाक्टरमाथि कुटपिट गरेको कुरा बडो शानका साथ सुनाएका छन्।
सुरक्षा दिन पुगेको प्रहरीले नै अपशब्द बोल्दै डाक्टरलाई रक्ताम्य हुने गरी चुटेको बताए।
इन्स्पेक्टर श्रेष्ठले तुच्छ र अपशब्द प्रयोग गर्दै आक्रोशित भीडमा गएर भनेका छन्- ‘डाक्टरलाई साफ चुटेर आएँ, सबलाई ढुटो बनाएर रगतै रगत बनाएर आएँ।’ त्यसपछि भीडबाट पररर ताली बज्छ।
सबैले खै भिडियो हेरौं भनेर भन्छन्।
‘ल अब हल्ला नगर्नुस्, आनन्दले बस्नुस् है। तपाईंहरुलाई गाली गरेको छु मैले?,’ भनेर इन्स्पेक्टर बाहिरिन्छन्।
प्रहरीको यही रबैयाका कारण आज डाक्टरले दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने माग प्रमुख रूपमा उठाएका छन्।
‘हिजो रातिसम्मै आतंक मच्चियो। संरक्षण गर्ने प्रहरी नै पीडक पक्षतिर लागेर डाक्टरमाथि जाइलागे,’ ती विद्यार्थी भन्छन्।
आज विद्यार्थीहरू कलेज गएनन्। होस्टलमै बसे।
‘हामी फुलबारीमा कोठा लिएर बस्छौँ। खाना खान होटलसम्म पनि निस्कन सकेका छैनौँ। निकै अशान्ति र भयको वातावरणमा छौँ,’ ती विद्यार्थीले भने।
डा विक रिहा
जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएका डा. दिनेश कुमार विकलाई रिहा गरेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.मिन बहादुर गुरुङको रोहबरमा डा. गिरीधारी शर्माको जिम्मामा डाक्टर विकलाई रिहा गरिएको प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।
सुरक्षा संवेदनशीलतालाई मनन गरी चिकित्सक पक्षबाट होहल्ला, नाराबाजीमा संलग्न फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेशकुमार विकलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमार्फत प्रहरीले जनाएको छ।
यद्यपि चिकित्सकलाई कुटपिटमा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका मृतक परिवार पक्षका विनय गुरुङमाथि भने अनुसन्धान जारी रहेको कास्की प्रहरीले बताएको छ।
गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ।
गण्डकीभरका स्वास्थ्यसेवा प्रभावित
मंगलबारदेखि गण्डकीभरका सबै अस्पतालमा भर्ना भएका बिरामी र ईमर्जेन्सीबाहेक सबै सेवा ठप्प छन्।
नेपाल चिकित्सक संघ, गण्डकीले ३ बुँदे माग अघि सार्दै उक्त माग पूरा नभएसम्म ईमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन्।
नेपाल चिकित्सक संघ, गण्डकीका कार्यवाहक अध्यक्ष डा. सुनिल पनेरु र सचिव डा. सुशील तिमल्सिनाले विज्ञप्ति जारी गर्दै ३ बुँदे माग पूरा नहुन्जेल ईमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्न बाध्य भएको बताएका छन्।
मणिपालमा चिकित्सकमाथि हमलामा प्रहरी नै संलग्न भएकाले दोषी प्रहरीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने र कारबाही गरिएको लिखित जानकारी दिन माग गरिएको छ।
यस्तै, दोषीहरुलाई गरिएको कारबाहीसम्बन्धी जानकारी नेपाल सरकारको छापसहित सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराउनुपर्ने साथै सार्वजनिक सञ्चार माध्यमद्वारा सम्पूर्ण जानकारी गराउनुपर्ने माग रहेको छ।

राजधानी काठमाडौँमा भएको विरोध।
एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), गण्डकीले पनि चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोडको घटनामा बिरोध जनाउँदै विज्ञप्ती जारी गरेको छ। (अफिन), गण्डकी अध्यक्ष डा. गिरधारी शर्मा र सचिव ऋषि खतिवडाद्वारा जारी विज्ञप्ति अनुसार ३ बुँदे मागमा पहिलो बुँदामा कुटपिट र अस्पताल चोडफोडमा उत्रने दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कारबाही गर्नुपर्ने रहेको छ।
मणिपालका सम्पूर्ण आवासीय चिकित्सक तथा इन्टर्नहरुले पनि विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नभएसम्म काममा नफर्कने बताएका छन्।
यसअघि पनि पटकपटक प्रहरीले चिकित्सकहरूमाथि कुटपिट गर्दै आएको छ।
२०७९ असार १२ गते राति ड्युटी सकेर घर फर्किंदै गरेका एक डाक्टरमाथि प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेको थियो।
ललितपुरको पुल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि एकान्तकुनास्थित यातायात कार्यालयअगाडि कुटपिट भएको थियो।
प्रतिष्ठानबाट ड्युटी सकेर घर फर्किंदै गर्दा आइतबार साँझ साढे ८ बजे कुटपिट भएको थियो।
ट्राफिक प्रहरीको कुटपिटबाट घिसिङको अनुहारभरि निलडाम भएको थियो।
२०७९ साल माघ २७ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई कुटेको थियो।
त्यसको विरोधमा वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न गएकी थिइन्। राष्ट्रपति फर्कँदा प्रहरीले सडक खाली लगाएको थियो।
त्यहीबेला डा. जनिथ सिंह वीरबाट ट्रमामा जान खोजेका थिए। प्रहरीले निर्घात पिट्दा उनको टाउकोमा चोट लागेको थियो।
२०७७ वैशाख ३ गते लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि निर्घात कुटपिट गरेको थियो।
त्रिभुवन शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरू शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले कुटपिट गरेको थियो।
क्यान्टिनमा खाना खाएर कोठामा फर्कने क्रममा उनीहरुलाई प्रहरीले कुटपिट गरेको हो।
सरकारले पटकपटक डाक्टरहरूलाई पिट्ने तर कारबाहीमा उदासीन बनेपछि चिकित्सकहरु हताश मानसिकतामा पुग्ने गरेका छन्।
माओवादीको सरकार हुँदा पनि माओवादीकै डाक्टर कुटिएको भन्दै माओवादी निकट डा दीपकप्रसाद कोइरालाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।
उनले पार्टीका सबै निकायबाट राजीनामा दिँदै साधारण सदस्यसमेत नरहेको जानकारी गराएका छन्।
‘आपनै पार्टीको प्रधानमन्त्री र गृहमन्ती हुँदा उपचार गर्ने चिकित्सकले पिटाइ खानु दिनचर्या भएको, प्रहरीले उल्टो गुण्डा गढ़ी गर्ने लाई जोगाएर डाक्टरमाथि लाठीचार्ज गर्नु र कानूनी राज्यको उपहास हुनु मलाई सह्य भएन,’ उनको राजीनामा पत्रमा उल्लेख छ।
तर गृहमन्त्री र प्रधानमन्त्रीले भनेअनुसार चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षा पनि दिन भने सरकार चुकिरहेको छ।
निष्कर्षविहीन वार्ता
डा कुटिएको विरोधमा देशभरका चिकित्सक आन्दोलित भएका छन्।
मंगलबार सरकार र आन्दोलनरत चिकित्सकबीचको वार्ता विना निष्कर्ष समापन भएको छ।

मंगलबार दिउँसो आन्दोलनरत चिकित्सकका प्रतिनिधि र गृहमन्त्रीसमेतको टोलीबीच गृह मन्त्रालयमा भएको वार्ताले निष्कर्ष निकाल्न नसकेको हो।
मंगलबारको वार्ता निष्कर्षविहीन बनेपछि बुधबार पुनः बैठक बसेर थप छलफल गर्ने निष्कर्षमा पुगिएको गृहका एक अधिकारीले जानकारी दिए।



