काठमाडौं- बाढीले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजना पुन:निर्माणको काम कहिलेबाट सुरू हुने अनिश्चित बनेको छ।
मनसुन जारी रहेका कारण क्षतिग्रस्त आयोजना पुन:निर्माणको काम कहिले सुरू गर्ने टुंगो लाग्न नसकेको हो।
मेलम्ची विकास समितिका अनुसार अहिले ड्रोनबाट साइट हेर्ने र क्षतिको आँकलन गर्ने काम मात्रै भइरहेको छ।
‘वर्षा नरोकिउञ्जेल आयोजनाको हेडवर्क्स तथा सुरूङमा पुग्न सकिँदैन,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले भने।
साउन २७,२८ र २९ गते मेलम्ची नदीमा ठूलो बाढी आएको थियो। बाढीका कारण हेडवर्क्स ग्रेग्रानले पुरिएको छ।
अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हेडवर्क्सको गेट नम्बर १ देखि ९ सम्मको भाग बाढीसँगै आएको गेग्रानले पुरिएको छ।
बाढीले क्षतिग्रस्त बनाएको एक महिना बिते पनि इन्जिनिरहरू त्यहाँ पुगेर निरीक्षण गर्न सकेका छैनन्।
‘गेट नम्बर १ देखि ९ सम्म सफा गर्नुपर्ने छ। कहिलेदेखि काम गर्ने भन्ने अनिश्चित छ। खोलाको किनारै किनार बाटो खन्दै जानुपर्ने अवस्था छ। तत्कालै काम अघि बढ्ने देखिँदैन,’ उनले भने।
अहिले ड्रोनबाट हेर्दा अस्थायी डाइभर्सनमा ठूलो ढुंगा देखिएको छ। जसबाट पानी जाने मुख्य सुरूङ जोडिएको क्षेत्र ढुंगा र गेग्रानले भरिएको छ।
‘त्यो बालुवा सुरूङभित्र कति पसेको छ, त्यो हेर्न बाँकी नै छ,’ उनले भने।
यसअघि बाढी आउँदा मेलम्ची क्षतिग्रस्त भएको थियो। त्यसबेला पुन:निर्माणमा एक अर्ब रुपैयाँ खर्च भएको थियो। त्यो रकमले बाँध, इन्टेक, पुल र बाटोमा लगानी गरिएको थियो।
हेडवर्क्ससँगै अस्थायी रूपले पानी चलाइरहेको २१० मिटरको सुरूङ छ। त्यो सुरूङमा गेग्रान पसेको अनुमान गरिएको छ।
‘खानेपानी मन्त्रालयसँग समन्वय भइरहेको छ, विस्तारै वर्षा हट्छ र त्यसपछि मेलम्ची पुन:निर्माण गर्नुपर्छ भन्ने कुरा छ,’ उनले भने।
पन्तका अनुसार हेडवर्क्स पुग्ने करिब ८-१० किलोमिटर बाटो बाढीले बगाएको छ। बाढीले बाटो बगाएपछि मेलम्चीका अधिकारीहरू हेडवर्क्ससम्म पुग्न नसकेका हुन्। हेडवर्क्स पुग्ने अन्य कुनै वैकल्पिक बाटो छैन।
‘मेलम्ची नदीको किनारै-किनार बाटो छ, त्यही बाटो हुँदै हेडवर्क्स पुग्नुपर्ने हो,’ उनले भने, ‘वैकल्पिक बाटो नभएकाले हामीले मेलम्ची क्षेत्र ड्रोनबाट मात्रै हेर्न पाएका छौं।’
मनसुन नरोकिएसम्म बाटो निर्माण गर्न कठिन छ। किनभने फेरि बाढी आएर बाटो बगाइदिने सम्भावना भएकाले मनसुनको अवस्थालाई मध्यनजर गर्नुपर्ने भएको हो।
‘त्यो स्थानीयले प्रयोग गर्ने बाटो पनि हो, हेडवर्क्ससम्म पुग्ने बाटो त्यही हो,’ पन्तले भने, ‘पहिले बाटो ठिक नभइकन हेडवर्क्स पुग्न सकिँदैन।’
अहिले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स वैकल्पिक हो। स्थायी हेडवर्क्स बनाउन त्यहाँ कठिन हुने आयोजनाका अधिकारीहरूले बताएका छन्।
मेलम्ची खानेपानी आयोजनाको पानी असार पहिलो साता बन्द गरिएको थियो। धमिलो पानी आउन थालेपछि वर्षाको समयमा आयोजनाले सुरूङ बन्द गर्ने गरेको छ।
अहिले भएको क्षति पुन:निर्माण गरिकन काठमाडौंमा कहिले मेलम्चीको पानी आउँछ अन्योल छ। ‘छोटो समयमै पानी ल्याउन मुस्किल छ,’ पन्तले भने।
दसैंअगाडि मेलम्चीको पानी नआउने निश्चितप्राय: छ। तिहारसम्म पनि मेलम्चीको पानी आउन कठिन देखिने अधिकारीहरू बताउँछन्।
खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठका अनुसार मनसुन सकिएपछि हेडवर्क्स पुग्ने बाटो खन्न थालिन्छ। त्यहाँ पुगेपछि मात्रै क्षतिको पूर्ण विवरण आउँछ।
‘अहिले ड्रोनबाट हेर्दा पहिलेको भन्दा केही कम मात्रै क्षति भएको देखिन्छ,’ उनले भनिन्, ‘के कति खर्च लाग्छ भन्ने अनुमान गर्न सकिएको छैन।’
मनसुन रोकिएपछि इन्जिनियरहरू साइटमा जाने र त्यसपछि मात्रै गेग्रान र ढुंगा पन्छाउने काम हुने उनले बताइन्।
‘सम्भवत: एक महिना लाग्छ, गेग्रान र ढुंगा पन्छाई सम्पूर्ण काम सकेर मेलम्चीबाट सुन्दरीजलसम्म पानी पठाउनुपर्ने हुन्छ,’ उनले भनिन्।
मेलम्ची आयोजनाबाट २०७७ फागुनमा पहिलोपटक पानी काठमाडौं ल्याइएको थियो। पानी ल्याइएको चार महिनापछि २०७८ असार १ गते आएको बाढीले आयोजनामा ठूलो क्षति पुर्याएको थियो। आयोजना निरीक्षणका क्रममा दुई कर्मचारीको मृत्यु भएको थियो।
सोही वर्ष कात्तिकमा आएको वर्षाले आयोजनामा थप क्षति पुर्याएको थियो।
सरकारले अस्थायी रूपमा पुन:निर्माण गरेर २०७९ वैशाखमा पुनः पानी राजधानी ल्याएको थियो।


