काठमाडौं- उदयपुर त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
खोलानालाबाट अवैध रूपमा प्राकृतिक स्रोतसाधन उत्खनन् र बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा चौधरीसहित चार जनाविरूद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीसँग एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ बिगो तथा कैद सजायको माग गरेको छ।
अख्तियार प्रवक्ता भोला दाहालका अनुसार चौधरीले ६२ लाख ९१ हजार २०४ रुपैयाँ बराबरको प्राकृतिक स्रोत साधन (ढुंगा, गिट्टी र बालुवा)को अवैध दोहनमा ठेकेदार कम्पनीलाई सघाएको आरोप छ।
अख्तियारले बिगोको दोब्बर जरिवाना माग्दै विशेष अदालतमा मुद्दा दायर गरेको दाहालले बताए।
मुद्दा दायर भएका अन्यमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, तत्कालीन राजश्व शाखा प्रमुख गुरुप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका प्रोपाइटर तथा ठेकदार राजेश बछार छन्।
कार्की र ढकालविरूद्ध समान एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ बिगो माग गरिएको छ।
ठेकेदार बछारविरूद्ध ३६ लाख ८८ हजार ३५५ रुपैयाँ बिगो माग गरिएको प्रवक्ता दाहालले बताए।
आर्थिक वर्ष २०७८/७९ मा ढुंगा, गिट्टी, ग्राभेल, रोडा, बालुवा उत्खनन् तथा संकलनको ठेक्का लगाउँदा नगरप्रमुखसहितले मोटो रकम हिनामिना गरेको अख्तियारको दाबी छ।
उक्त आर्थिक वर्षमा त्रियुगा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोसी नदीको नदीजन्य पदार्थ माटोबाहेकको प्रारम्भिक वातवरणीय परीक्षण प्रतिवेदन (आइइई) स्वीकृत गरिएको थियो।
त्रियुगा नगरपालिकाको नगरस्तरीय राजश्व परामर्श समितिको निर्णयअनुसार नदीजन्य पदार्थको प्रस्तावित आय प्रक्षेपण भएको थियो।
अनुसन्धानमा ढुंगा, ग्राभेल, बालुवा उत्खनन्, संकलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम् अंक कायम गर्ने निर्णय गरी नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा आइइई प्रतिवेदन अनुसारको अनुमानित राजश्व रकमसमेतलाई बेवास्ता गरिएको पाइएको अख्तियारले जनाएको छ।
मेयर र कर्मचारीले वास्तविक उठाउनु पर्ने राजस्व रकम नउठाएको पाइएको छ। उनीहरूले जम्मा राजश्व रकम ६२ लाख ९१ हजार २०४ रुपैयाँ हिनामिना गरेको र ठेक्का नै नभएको माटो (भरौटे-बलौटे) गैरकानुनी ढंगले उत्खनन् र बिक्री गर्न दिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।
‘त्यो दुबै रकम जोडेर हुन आउने रकममा दोब्बर बिगो मागेर मुद्दा दायर गरिएको हो,’ दाहालले भने।
बछारले चौधरी, कार्की र ढकालसँगको मिलेमतोमा सम्झौताको सर्त विपरीत बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेश नभएको नदीजन्य पदार्थ उत्खनन्, बिक्री गरेको अनुसन्धानले देखाएको छ।
