काठमाडौं- उदयपुर प्रहरीले प्रतिबन्धित औषधीसहित एक जना औषधी व्यवसायीलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका ७ बेल्टारका गोपीकृष्ण मेडिकल हलका सञ्चालक वीरेन्द्र झालाई प्रतिबन्धित औषधी ट्रामाडोलसहित प्रकाउ गरेको हो।
चौदण्डीगढी नगरपालिका नगर स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार ट्रामाडोल डाक्टरको पुर्जाबिना बेचबिखनमा प्रतिबन्धित औषधी हो।
ट्रामाडोल बेचबिखनको लागि हरेक औषधी पसलले लगबुक राखेर मात्र बेच्नुपर्ने प्रावधान रहेको समेत स्वास्थ्य शाखाले जनाएको छ।
गत असोज २ गते नगर स्वास्थ्य शाखाका कर्मचारी सहित प्रहरीको टोलिले झाको मेडिकल हलमा छापा मारेको थियो।
झाले सञ्चालन गर्दै आएको गोपी कृष्ण मेडिकल हलमा छापा मार्ने क्रममा प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार २० ट्याबलेट, स्पासेन २ हजार एक सय ६० ट्याबलेट र ओपिडोल २ हजार एक सय ट्याबलेटसहित प्रहरीले प्रकाउ गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए।
गोपीकृष्ण मेडिकल हलका सञ्चालक वीरेन्द्र झा अवैध औषधीसहित पक्राउ परेसँगै स्थानीयस्तरमा अवैध औषधीको व्यापार गरेर समाज बिगारेको र आफ्ना छोराछोरी अहिले सुधार केन्द्रमा राख्नुपर्ने अवस्थामा पुगेको भन्दै झालाई हदैसम्मको कारबाहीको माग स्थानीयहरूले राख्दै आएका छन्।
उनीहरूले झालाई कारबाहीको मागसहित प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका थिए।
अवैध औषधी बेचबिखनको नियमनकारी निकाय औषधी व्यवस्था विभाग भएकोले प्रहरीले उनलाई आवश्यक कारबाहीको लागि बरामदी औषधीसहित औषधी व्यवस्था विभाग विराटनगर पठाएको छ।


