काठमाडौं- तनहुँमा प्रहरीले सहकारी संस्थाका प्रवन्धकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भिमाद नगरपालिका-९ कटनछापका ५२ वर्षीय चुत्रबहादुर थापा रहेको तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्टले जानकारी दिए।
सहकारी संस्थाको दुई करोडभन्दा बढी रकम हिनामिना गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनी भानुमति साना कृषि सहकारी संस्थाका प्रवन्धक हुन्। थापाले सेयर, बचत रकम र काल्पनिक ऋणसमेत खडा गरेर रकम हिनामिना गरेको आरोप छ।
थापाले २ करोड ६९ लाख ७१ हजार ९६६ रुपैयाँ हिनामिना गरेको देखिएको विष्टले बताए।
उनले १३० जना सेयर सदस्यको नाममा काल्पनिक ऋण निकालेका छन्।
थापालाई जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।
