काठमाडौँ- नेकपा एमाले बागमती प्रदेशमा सहमतिको प्रयास विफल भएको छ। सहमतिमा नेतृत्व छान्ने प्रयास विफल भएपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ।
सहमतिका लागि भन्दै तीन पटकसम्म निर्वाचन कार्यतालिका संसोधन गरिएको थियो।
अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि अध्यक्षकै लागि पाँच जनाले उम्मेदवारी दिएका थिए।
निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठले र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दिएका थिए। पाण्डेले ढुंगेललाई तथा श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गरेका छन्।
ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत भएको बताइएको छ भने दाहालको पक्षमा गोकुल बाँस्कोटा खुलेर लागेका छन्।
एमाले बागमतीमा ५ पदाधिकारीसहित २४० सदस्यीय कमिटीका लागि मतदान हुँदैछ।
मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाएको छ। ४० वटा भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी एमालेको छ।
भोटिङ मेसिनबाट मतदान गर्न २५ मिनेटसम्म लाग्ने छ। एमाले बागमतीमा १ हजार १६४ जना मतदाता रहेका छन्।


