काठमाडौं- ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जिबी) राईसहित १३ जनाविरूद्ध अर्को पक्राउ पूर्जी जारी भएको छ।
पर्सा वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको आरोपमा उनीसहित १३ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको हो।
पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले राईसहित १३ जनाविरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको बताए।
उनीहरूमध्ये कर्जा अधिकृत राधेचन्द्र यादव पक्राउ परेका छन्। पर्सा प्रहरीमा दिनहुँजसो उक्त सहकारीका बचतकर्ताहरूले ठगीको निवेदन दिइरहेका छन्।
‘कति रकम ठगी भएको भन्ने अहिले निर्क्यौल गर्न बाँकी छ, दिनहुँजसो निवेदन आइरहेका छन्,’ उनले भने।
पक्राउ पूर्जी जारी भएकामा निवर्तउपाध्यक्ष नेहा पौडेल, सचिव तस्वीरन मियाँ, कोषाध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर छन्।
यस्तै, सहकारीका पूर्वकोषाध्यक्ष कुमार रम्तेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। रम्तेल यसअघि नै पक्राउ परी कास्की प्रहरीको हिरासतमा छन्।
सञ्चालक समिति सदस्यहरू देबेन्द्रबाबु राई, थानबहादुर बुढामगर, धिरजकुमार दास, पूर्वउपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्वसदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकीविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
राईविरूद्ध पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निक्षेप पनि हिनामिना गरेको आरोप छ।
बचतकर्ताहरूको रकम ठगी गरेको आरोपमा राईसहित सात जनाविरूद्ध कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ। राईसहित अन्य व्यक्तिहरू फरार छन्।
राईसहितका व्यक्तिविरूद्ध ९७१ जना बचतकर्ताले जाहेरी दिएका छन्।
उक्त सहकारीले बचतकर्ताको १६ अर्बभन्दा बढी रकम ठगी गरेको आरोप छ।
