काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले छिट्टै नेपाल भ्रमण गर्ने बताएका छन्।
अमेरिका र चीनको १५ दिने भ्रमणपछि नेपाल फर्केका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी दाहालले आफूले महाचसिवलाई नेपाल भ्रमणको निम्तो दिएको बताए।
‘सेप्टेम्बर १७ मा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग मेरो द्विपक्षीय भेटवार्ता भयो,’ दाहालले विमानस्थलमा भने, ‘महासचिवलाई नेपा भ्रमणका लागि पुनः आमन्त्रण गरेको र मेरो निमन्त्रणा स्वीकार गरी उहाँ छिट्टै नेपाल भ्रमणमा आउनुहुने भएको छ।’
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन दाहाल भदौ ३० गते अमेरिकाका लागि प्रस्थान गरेका थिए। त्यहाँ रहँदा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायतसँग पनि भेट गरेका थिए।
अमेरिकामा एक साता बसेर गत शनिबार चीन पुगेका दाहालले त्यहाँ पनि एक साता बिताएर नेपाल फर्किएका हुन्। चीनमा रहँदा उनले राष्ट्रपति सी जिनपिङ र समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गरेका थिए।
समककक्षीसँगको भेटमा दुवै पक्षबीच १३ समझदारी भएको छ।
त्यसपछि तिब्बत हुँदै कैलाश र मानसरोवर घुमेर दाहाल काठमाडौँ अवतरण भएका हुन्।


