हाङझाउ- चीनमा जारी एसियाली खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले शनिबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान् भंग गरेका हुन्।
गोपीले ३० मिनेट ३०.९९ सेकेन्डको कीर्तिमान बनाएका थिए। दीपक ९ वर्षपछि उक्त कीर्तिमान् तोड्न सफल भए। जारी एसियाडमा दीपक नयाँ राष्ट्रिय कीर्तिमान बनाउने एक नेपाली खेलाडी समेत बने छन्।
एसियाली खेलकुद (एसियाड)को भारोत्तोलनतर्फ महिला ५५ केजीको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङ बाहिरिएकी छन्।
एक्सएससी जिम्न्याजिममा भएको समूह ‘ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार बहन गरेकी उनी शनिबार बाहिरिएकी हुन्।
स्न्याचमा टीकाले पहिलो र दोश्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरेपनि सफल भइनन्। क्लिन एन्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोश्रो लिफ्टमा ८६ केजी तौल उठाइन्।
क्लिन एन्ड जर्कको आफ्नो तेश्रो लिफ्टमा टीकाले ९० केजी तौल उचाल्ने प्रयास गरेकी थिइन्। टीका ९० केजी तौल उठाउन असफल रहिन्।
महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ।
भियतनामले नेपालाई २५–४, २५–१६ र २५–१३ को सेटमा हरायो।

समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरिया विरुद्ध प्रतिस्पर्धा गर्ने छ। एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो।
ट्रायथलन :
ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा नेपालकी श्रेबी महर्जन १७ औं भएकी छन्। २१ खेलाडी सहभागी स्पर्धामा कुवेत, युएइ, कम्बोडिया र जोर्डनका खेलाडीले स्पर्धा पूरा गर्न सकेनन्।
श्रेबीले १ हजार ५ सय मिटरको पौडी, ४० किलोमिटरको साइक्लिङ र १० किलोमिटरको दौड जम्मा २ घण्टा २५ मिनेट र १३ सेकेन्डमा पूरा गरिन्। ट्रायथलनमा नेपालबाट समान २–२ पुरुष/महिला गरी ४ खेलाडी सहभागी छन्।
जापानकी युको ताकाहासीले स्वर्ण, चीनको चिन्यु लिनले रजत र चीकै यिफान याङले कांस्य जिते।
ह्यान्डबल :
महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ। समूह ‘बी’ को चौथो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित गर्यो।
नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे। समूह चरणको पहिलो खेलमा नेपाल चीनसंग ५७–१०, दोश्रोमा जापानसंग ६२–१० र तेश्रोमा हङकङ चाइनासंग २७–१८ ले हारेको थियो।
इ स्पोर्ट्स :
इस्पोर्ट्सको पब्जी मोबाइलमा पदक जित्ने नेपालको आशा समाप्त भएको छ। चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा शनिबार भएको समूह ‘ए’ को सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएपछि नेपालको पदक सम्भावना सकिएको हो।
सेमिफाइनलमा नेपाका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले प्रतिस्पर्धा गरेका थिए। नेपाल शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।
त्यस्तै डोटा २ मा पनि नेपाल पराजित भएसंगै इ स्पोर्ट्समा नेपालको चुनौती समाप्त भएको छ। नेपाल किर्गिस्तानसंग २–० ले पछि पर्यो।
बक्सिङ :
एसियाली खेलकुदअन्तर्गत बक्सिङको महिला ७५ केजीमुनि नेपालकी सरस्वती राना पराजित भएकी छन्।

हाङझाव जिम्न्याजिममा भएको क्वाटरफाइनलमा भियतनामकी क्विन्ह डिम लुले सरस्वतीलाई ४–१ अंकले पराजित गरिन्। यससंगै बक्सिङमा नेपाली खेलकुदको यात्रा सकिएको छ।
व्यक्तिगत स्पर्धामा नेपालबाट सर्वाधिक खेलाडी सहभागी भएको खेल बक्सिङ हो। बक्सिङमा १३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए।


