पोखरा- एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्तिमा १० वर्षसम्म एमालेमा वर्तमान अध्यक्ष केपी ओलीको विकल्प नभएको बताएका छन्। एमाले गण्डकी अधिवेशनको उद्घाटनका क्रममा गुरुङले बताएका हुन्।
‘कम्तीमा अबको १० वर्षसम्म केपी ओलीको विकल्प छैन। केपी ओली भएन भने राष्ट्रिय स्वाधिनताको यात्रा बिथोलिन सक्छ,’ एमाले गण्डकीको प्रथम अधिवेशनलाई संम्बोधन गर्दै उनले भने, ‘कुनै जंगलमा दुईवटा सिंह हुँदैन। कि हारेर बस्छ, कि हिजोजस्तो वामदेव र माधव नेपालजस्तो। कहिले सीपी र झलनाथजस्तो झगडा, कहिले माधव र केपी ओलीजस्तो झगडा छैन।’
६ हजार ७४३ वडामा एकैदिन अधिवेशन गरेर ओलीले कीर्तिमान बनाएको उनको भनाइ थियो। माधव नेपाल पार्टीमा भएको भए ७५३ पालिकामा एकैदिन अधिवेशन सम्भव नहुने उनको भनाइ थियो।
‘यो अभूतपूर्व सफलता पार्टीभित्र एकल नेतृत्व भएकाले सम्भव भएको हो,’ उनले पार्टीमा एकता चाहिएको बताउँदै थपे, ‘विभाजनले शक्ति प्राप्त हुन्छ भन्ने २०५४ सालमा कमरेड वामदेवले लगाएको कुरा फत्तुर रहेछ भन्ने पुष्टि भइसक्यो।’


