काठमाडौं– नेकपा एमाले कोसी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्।
सोमबार रातिको अन्तिम मतपरिणाम अनुसार खतिवडाले विनोद ढकाललाई ७३ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचित खतिवडाले ५१२ मत ल्याए। उनका प्रतिस्पर्धी विनोद ढकालले ४३९ मत पाए।
खतिवडालाई एमाले अध्यक्ष केपी ओलीले समर्थन गरेका थिए।
खतिवडा मोरङ-१ बाट निर्वाचित पूर्वसांसद तथा नेकपा एमाले कोसी प्रदेश सचिवालय सदस्य हुन्।
ढकाल एमाले केन्द्रीय कमिटी सदस्य हुन्। ढकाल गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट पराजित भएका थिए।
खतिवडा पनि मोरङ क्षेत्र नम्बर १ बाट पराजित भएका थिए।
खतिवडा सहकारी अभियन्ता हुन्। उनी मोरङ लेटाङका बासिन्दा हुन्। ढकाल विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलका सञ्चालक हुन्।
खतिवडा २०५४ सालमा एमालेबाट छुट्टिएर बामदेव गौतमले माले गठन गर्दा त्यहीँ समाहित भएका थिए।
गुण्डा नाइके पर्शुराम बस्नेतको आपराधिक गतिविधिको विरोध गर्दा उनलाई पार्टीले झन्डै निष्काशन गरेको थियो।
पछिल्लो समय नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन भए पनि खतिवडा एमालेमै रहेका थिए।
पर्शुराम बस्नेतको आपराधिक सञ्जालविरूद्ध अभियानमा होमिएका खतिवडालाई यो अधिवेशनमा भने उनै बस्नेतले समर्थन गरेका थिए।
पर्शुराम बस्नेतको आपराधिक गतिविधिको समर्थनमा ढकाल हुँदा ओलीले उनलाई समर्थन गरेका थिए। तर, पछिल्लो समय ओली र ढकालबीच सम्बन्ध चिसिएको पनि बस्नेतकै कारण थियो।
बस्नेतको आपराधिक गतिविधिमा ढकालले ‘लगाम’ लगाउन खोजेपछि बस्नेत उनीसँग चिढिएका थिए।
आफ्नो आपराधिक समूहलाई महेश बस्नेतले समर्थन गरेपछि पर्शुराम एकाएक पार्टी राजनीतिमा अगाडि बढेका थिए।
२०६८ सालमा विराटनगरमा पत्रकारलाई अपहरण गरी हत्याको योजना बस्नेतले नै बनाए। त्यसमा महेश र विनोदले साथ दिए।
त्यसबेला ओली, महेश र पर्शुरामलाई सहयोग गरेका ढकालको ओरालो यात्रा सुरू भएको गत प्रतिनिधिसभा चुनावताकै हो।
त्यो बेला ढकालले पर्शुराम हराउने अभियान चलाए। पर्शुरामले ढकालाई पराजित गर्ने अभियान चलाए।
पत्रकारको अपहरण र हत्याको योजना बनाएका बस्नेतको विरूद्धमा लागेका खतिवडालाई भने यसपालि पर्शुरामले नै साथ दिए।
कुनै बेला विपरीत कित्तामा रहेका खतिवडा र बस्नेत भने यसपालि एउटै मोर्चामा समाहित भए।
पत्रकारको अपहरण तथा शरीर बन्धक मुद्दा चलेपछि पर्शुराम ११ महिना फरार रहे। त्यहीबीचमा एमालेको जिल्ला अधिवेशनमा ढकाल उम्मेदवार बने। तर, उनलाई महेश रेग्मीले पराजित गरे।
एक कार्यकाल रेग्मीले एमाले मोरङ चलाए। अर्को अधिवेशनमा फेरि ढकालले रेग्मीलाई पराजित गरे।
ढकाल एमालेमै रहे, रेग्मी भने एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भए।
बस्नेत एमालेमै थिए। कुनै बेला ढकालको कट्टर समर्थक बनेका बस्नेत यसपालि भने आफ्नो आपराधिक गतिविधिको विरोध गर्ने खतिवडाको नजिक बन्न पुगे।


