गलकोट- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ। यस्तै सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ।
उनका अनुसार सिकारका लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारी ढोरपाटन सिकार आरक्षमा आउने तयारीमा जुटेका छन्। “यस सिकारयाममा आठ नाउर, चार झारल र आठ बँदेलको सिकार खेल्न विभागले अनुमति दिइसकेको छ, अहिले विदेशी सिकारी आरक्षतर्फ आउने तयारीमा छन्”, उनले भने, “यस वर्ष आरक्षमा सूचीकृत आठ कम्पनीमार्फत जर्मन, अमेरिका, रसिया र बेलारुसका सिकारीले सिकार खेल्न अनुमति पाइसकेका छन्।”
पहिलो याममा अमेरिकाका पाँच सिकारी, जर्मनी, रसिया र बुलरियाका एक–एक सिकारी सिकार खेल्नका लागि अनुमति पाएका हुन्। विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य सिकारीबीच प्रतिस्पर्धा गराएर सिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्रमार्फत एउटै नाउर सिकार खेल्न सिकारीले१० देखि २० लाखसम्म तिर्ने गरेको पाइन्छ।
सिकारका लागि आरक्ष क्षेत्रलाई सात ब्लकमा विभाजन गरिएको छ। ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ। खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयको भनाइ छ।
विदेशी सिकारीसहितको समूहले १५ दिन जङ्गलमै समय बिताउँछन्। पन्ध्र दिनमा सिकार खेल्न नसके सिकारी खाली हात फर्कनुपर्ने आरक्षको नियम छ । विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ।
साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, अनुमतिपत्र, हेलिकोप्टर सबै बन्दोबस्तीका सामग्री तयार गर्दा एक जना सिकारीले करिब २० लाखसम्म खर्च गर्ने गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ।
विसं २०४४ मा स्थापना भएको सिकार आरक्ष पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्मसमेत स्थापना भएको छ।



