काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानूनमन्त्री घनराज गुरुङले बुथ कब्जा गराउने निर्वाचन अधिकृतलाई न्यायाधीशमा नियुक्ति दिलाएर पुरस्कृत गरेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ती न्यायाधिसले कस्तो न्याय सम्पादन गर्लान्? भनेर प्रश्न समेत गरे। ‘बुथ कब्जा गराउने अधिकृतलाई न्यायाधीशमा नियुक्त गरेर पुरस्कृत गरियो । अब ती न्यायाधीशबाट न्याय सम्पादन कस्तो होला । उनको त बानी नै छ । मरेका मान्छेले भोट हाल्न पाइन्छ भन्ने,’ उनले भने। गुरुङ माथि व्यंग्य कस्दै उनले पितृले भोट हालेको बताए। ‘जित्नको लागि ९९ प्रतिशत मत खसालेको छ । ९९ प्रतिशत मत खस्छ काहीँ ? दश प्रतिशत खाडीमा छन् । केही मान्छेमाथि गए ती पनि मत खसाल्न आए । कति पपुलर पितृले पनि मत खसाले ।’
उनले एमालेले न्यायपालिकालाई गठबन्धनको विभाग बन्न नदिने जिकिर गरे। ‘तपाईहरुले न्यायापालिकालाई स्वतन्त्र न्यायपालिका रहन नदिएर गठबन्धनको विभाग बनाउन खोज्या होला सम्भव छैन, हामी पनि छौं यो देशमा,’ उनले भने, ‘हामी न्यायालयलाई स्वतन्त्र सम्मानित मर्यादित न्यायापालिकाको रुपमा राख्न चाहन्छौं तपाईंहरुको विभाग बनाउन दिँदैनौं।’


