काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा भ्रामक, कपोकल्पित, उत्तेजक विचार व्यक्त गरेका कारणले नेपाल गञ्जमा कर्फ्यू जारी राख्नुपरेको घटना गम्भीर चिन्ताको विषय भएको बताएका छन्।
बुधबार विज्ञप्ती जारी गर्दै उनले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व र सद्भाव कायम राख्न अपिल गरेका समेत गरेका छन्। उनले विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्भाव भड्काउने खालका अवाञ्छित र रहस्यमय गतिविधि भइरहेको बताउँदै सचेत हुन आग्रह गरेका छन्।
‘धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्भाव भड्काएर सामाजिक विद्वेष तथा घृणा फैलाउने कुत्सित अभिष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेको कारणले हिजोदेखि नेपालगञ्जमा कर्फ्यु जारी गर्नु परेको छ, जुन गम्भीर चिन्ताको विषय हो,’ उनले भनेका छन्।
उनले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र भएको भन्दै आफ्नो धार्मिक तथा सांस्कृतिक आस्थाअनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई रहेको स्मरण गराएका छन्। उनले भनेका छन्, ‘यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको छ ।’
थापाले विश्व शान्तिका प्रतीक भगवान गौतम बुद्धको जन्मभूमि तथा शान्तिभूमि नेपालले विश्वलाई शान्ति, सहिष्णुता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्दै आएको र यो गौरवमय पहिचान र परम्परालाई हामीले कायम राख्नुपर्ने धारणा राखेका छन्।
‘हाम्रो देश नेपाल र हामी नेपालीको मौलिक र गौरवमय पहिचान, परम्परा र स्वभाव विपरीत धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव भड्काउने अवाञ्छित क्रियाकलापप्रति सचेत हुँदै शान्ति, सहिष्णुता तथा सहअस्तित्वको सन्देश प्रवाह गर्न सबै धार्मिक, सांस्कृतिक तथा जातीय समुदायप्रति विनम्रतापूर्वक हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्।
