२०८३ कार्तिक १२ गते बुधबार

पाकिस्तानबाट भिजिट भिसामा आएर नेपालीसँग ‘मेजमानी खाँदै’ ठग्ने नाजिर

 |  खिलानाथ ढकाल
Sanket

खिलानाथ ढकाल

काठमाडौँ, असोज १८
Pakistan

काठमाडौँ- रुकुम घर भएका कमल वली पाँच वर्षअघि कोरियाबाट नेपाल फर्केका थिए। कोरियामा उनका नातेदार दिदी-बहिनीहरू अझै छन्।

कोरियामा बस्दा राम्रै पैसा कमाएर ल्याएका थिए। कोरियाबाट फर्केपछि वलीले नेपालगञ्जमा होटल खोले। सँगसँगै कुखुराको फार्म पनि खोले। अहिले उनी दुवै व्यवसाय चलाइरहेका छन्।

वलीका दाजुको काठमाडौं सोह्रखुट्टेमा पिस गेस्ट हाउस चलाउने रुकुमकै विमल मल्लसँग चिनजान रहेछ।

विमलले वलीका दाजु नाता पर्ने एक जनालाई पाकिस्तानी नागरिकसँग परिचय गराएछन्। ती पाकिस्तानी नागरिक मल्लको होटलमा आइरहन्थे। पाकिस्तानी नागरिक प्राय: भिजिट भिसामा नेपाल आउँथे।

उनी थिए – पाकिस्तान राहुलपिण्डी घर भएका ५१ वर्षीय नाजिर मोहम्मद।

नाजिर दुई-तीन वर्षदेखि भिजिट भिसामा नेपाल आउने गरिरहेका थिए, छन्। र, उनी सोह्रखुट्टे-ठमेल क्षेत्रका होटलहरूमा बसोबास गरिरहेका हुन्छन्। केही दिनअघि पनि उनी भिजिट भिसामै नेपाल आएका थिए।

नाजिरले आफ्नो अजरबैजान भन्ने देशमा कम्पनी रहेको बताउने गरेका थिए। उक्त कम्पनीबाट आफूले नर्वे-पोर्चुगलमा कामदार पठाउने भन्ने गरेका थिए।

वलीका दाइलाई मल्लले ‘युरोपियन मुलुक पठाउने’ राम्रै मान्छे छ भन्थे। उनले वलीलाई फोनमै कुराकानी गराउँथे।

‘झन्डै एक वर्षदेखि फोन-फोनमै कुराकानी हुन्थ्यो,’ वली भन्छन्, ‘नियमित सम्पर्क हुन थालेपछि मलाई पनि भेटेरै चिनजान गर्न मन लाग्यो।’

नाजिरको कथित ‘युरोपियन एक्सस’बारे मल्लसँगको फोन संवादबाट प्रभावित भएका वली तीन महिनाअघि काठमाडौं आए। नाजिरसँग भेटघाट भइहाल्यो। नाजिर त्यतिबेला पाकिस्तानबाट भिजिट भिसामा नेपाल आएका थिए।

नाजिरले नर्वे पुर्‍याइदिने आश्वासन वलीलाई दिए। नर्वे पुगेपछि २९ सय डलर रकम मासिक कमाइ हुने भन्दै वलीलाई विश्वस्त गराए।

नाजिरले अजरबैजान देशमा आफ्नो कम्पनी रहेको बताए। वलीलाई त्यहाँ जान प्रस्ताव गरे। मल्लको होटलमा कुराकानी हुँदा नाजिरले भिसा मिलाउने कुरा गरे। नभन्दै अजरबैजानको भिजिट भिसा जारी पनि गराए।

वली आफैं टिकटको पैसा खर्च गरेर गत जुलाई २६ मा अजरबैजान गए नाजिरसँगै। नाजिरले त्यहाँ रहेको आफ्नो ‘कम्पनी’ देखाइदिए।

‘सरकारी लाइसेन्सप्राप्त कम्पनी हो भनी विश्वास दिलाए,’ वलीले भने, ‘म नर्वे जान तयार भएँ।’

उनी अजरबैजान गएर अगस्ट ४ तारिखमा नेपाल फर्किए।

नर्वे पुगेर २९ सय डलर कमाउने भरोसा पाएपछि वली उत्साहित भए।

अजरबैजान पुगेर फर्किएका वलीले नाजिरको विश्वासमा नर्वे जान आफ्ना केही आफन्त र नातागोता पनि तयार पार्न थाले।

उनीहरूबाट रकम संकलन गरी नाजिरलाई पैसा बुझाउन तत्पर भए।

वली, उनका साथीभाइ र नातागोताले नाजिरलाई पटक-पटक गरी झन्डै ५० लाख बुझाएका छन्।

उक्त रकम नाजिर आफैंले भने लिएनन्। अजारबैजानकी ३१ वर्षीया महिला आइसेल हुसेनिलको खातामा पठाउन अह्राए। आफू मात्र नभएर नातागोतालाई ‘ढुक्क’ पारेर वलीले हुसेलिनको खातामा रकम जम्मा गर्न थाले।

विश्वासमा परेर वलीले त अजरबैजानमै एक हजार डलर हुलिसेनको खातामा हाल्दिएका थिए। अजरबैजानबाट फर्किएपछि नर्वे जाने प्रक्रिया मिल्ने ठानेर वलीले नेपाल आएर २९ लाख रुपैयाँ हुलिसेनको खातामा हाले। वलीले २९ लाख एकमुस्ट रकम लाजिम्पाटको होटल हिमालयनबाट हालेको अनुसन्धानबाटै देखिएको छ।

अझ, वलीले कोरियामा भएका दिदी-बहिनीमार्फत् कहिले १८९०, कहिले ७१०, कहिले १००० डलर गर्दै हुलिसेनको खातामा हाल्न लगाएको देखिएको छ।

आफ्नो मात्र नभएर वलीले साला-साली तथा नातेदारबाट रकम पठाउने गरेका रहेछन्।

बढीभन्दा बढी रकम हालिसके पनि नाजिरले उनलाई नर्वे तत्कालै लैजाने छाँट देखाएनन्।

बुझ्दै जाँदा विमललगायत अन्य आधा दर्जनबढीको पनि लाखौं रकम लिइसकेका रहेको वलीले थाहा पाए। उनीहरूलाई पनि नर्वेलगायत युरोपियन मुलुक लैजाने आश्वासन दिलाएर नाजिरले फनफनी घुमाइरहेको वलीले थाहा पाए।

त्यसपछि भने वलीलाई नाजिरको विश्वास लाग्न छोडेको रहेछ।

अनि, वली काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आइपुगे। जतिबेला नाजिर सोह्रखुट्टेको होटल यात्री एन्ड डुड्डी स्वीट्स स्पामा बसिरहेका थिए।

पछिल्लो पटक भिजिट भिसामा आउँदा नाजिरले अजरबैजानकी ती युवतीलाई पनि सँगै लिएर आएका रहेछन्। उनीहरू सेप्टेम्बर २० तारिखमा नेपाल आएका थिए, उही भिजिट भिसामै।

वलीले जाहेरी दिएपछि कार्यालयको टोली सोह्रखुट्टे पुग्यो। होटलको ३०४ र ३१४ नम्बर कोठामा नाजिर र युवती बसेका रहेछन्।

लाखौं रकम हिनामिना गरेको जाहेरी परेपछि अनुसन्धान कार्यालयको टोलीले मंगलबार छापा मारेर नाजिर र ती युवतीलाई पक्राउ गर्‍यो।

पक्राउपछि त नाजिरले वलीलगायत मानिसहरूबाट पैसा मात्रै लिएका रहेनछन्, पाकिस्तानबाट काठमाडौं आउँदा उनीहरूको मेजमानी पनि खाँदा रहेछन्।

‘नगद पैसा लिने, होटलमा खाने-बस्ने, सपिङसम्म गर्न लगाउँदा रहेछन्,’ प्रारम्भिक अनुसन्धानमा खुलेका तथ्यहरूबारे कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौर भन्छन्, ‘सन् २०२१-२०२२ देखि नाजिरले युरोपियन मुलुक पठाइदिने भन्दै रकम संकलन गर्न थालेका रहेछन्।’

राठौरका अनुसार विभिन्न मुलुकमा रोजगारीको प्रलोभन देखाएर ठग्ने नेपालकै एजेन्टहरू छँदैछन्। वैदेशिक रोजगारीमा ठगिएको उजुरी लिएर आउनेहरू बग्रेल्ती छन्। वैदेशिक रोजगार विभागबाट पत्राचार भएर आएका प्रकरणमा दिनहुँजसो कार्यालयले ठगहरू पक्राउ गरिरहेकै छ।

तर, भिजिट भिसामा नेपाल आएर नेपालीलाई विदेश पठाइदिने भन्दै ठगी गर्ने विदेशी पनि छन् भन्ने तथ्य पाकिस्तानी नागरिक नाजिर पक्राउपछि खुलेको छ।

‘उनले ठगी गरेका आधा दर्जन व्यक्ति प्रहरीको सम्पर्कमा आएका छन्, अरू धेरै मानिसहरू पीडित छन् भन्ने बुझ्नमा आएको छ,’ राठौरले भने, ‘भिजिट भिसामा विदेशी आएर नेपालीलाई विदेश पठाइदिने भन्दै ठगी गरेको यो पहिलो घटना हो।’

नेपाल क्लिक्सका सहकर्मीले फोन गर्दा वलीले समाचार नलेखिदिन आग्रह गरे। समाचार लेखेपछि आफ्नो सबै पारिवारिक सम्बन्ध बिग्रिने वलीले दाबी गरे।

‘कुरा खोलौं भने नातागोताबाट लिएको रकम आफैं बुझाउने परिस्थिति आइलागेको छ, भरसक नाजिरबाटै रकम उठाएर भन्नुपर्ला भन्ने सोचेको,’ वलीले फोनमा भने, ‘तपाईंले समाचार लेखिदिनु भो भने मलाई अफ्ठ्यारो पर्छ।’

भिजिट भिसामा नेपाल आउने, नेपालीलाई नै ठग्ने
नाजिर पाकिस्तानी नागरिक हुन्। उनको राहदानी नम्बर एके ९८२१४४३ हो।

उनी पछिल्लो पटक काठमाडौं आएको सेप्टेम्बर २० मा हो। पहिले-पहिले उनी एक्लै नेपालमा ९० दिनको भिजिट भिसामा आउँथे। यसपालि आउँदा अजरबैजान देशकी आइसेल हुसेलिनलाई लिएर आए।

प्रहरी वरिष्ठ उपरीक्षक राठौरका अनुसार हुसेलिन पहिलोपटक नेपाल आएकी हुन्। उनी नाजिरबारे धेरै जानकारी नभएको बताउने गरेकी छिन्।

नाजिर धेरैपटक काठमाडौं भिजिट भिसामा आइरहेका व्यक्ति हुन्।

‘आइसेललाई उनले प्रयोग गरिरहेको देखिन्छ, उनको खातामा रकम गएको देखिन्छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी भन्छन्, ‘मलाई यो सम्बन्धमा थाहा छैन, नाजिरले जसो भने त्यसै मानेको हो भन्छिन्, तर नाजिर र उनको सम्बन्ध लामो समयदेखिको हो भन्ने बुझिन्छ।’

सीओओ २७९७१० राहदानीबाहक हुसेलिन नाजिरले आफूलाई फसाएको प्रहरीलाई भन्ने गरेकी छिन्।

हुसेलिन पहिलो पटक नेपाल आएका कारण नाजिरले फसाएको हो कि भन्ने तथ्यबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, हुसेलिनको खातामा नाजिरले रकम पठाउने गरेकाले उनको भूमिकाबारे शंका गर्ने ठाउँ रहेको कार्यालयका अनुसन्धान अधिकृतको भनाइ छ।

वलीबाहेक ठगिएका को-को हुन्?
अनुसन्धान अधिकृतका अनुसार नाजिरले वलीलाई मात्रै ठगेनन्, अन्य धेरैबाट रकम संकलन गरेका छन्। त्यो रकम हुसेलिनको खातामा गएको देखिन्छ।

नाजिरले दीपक खनालबाट ८०० र ५७०० डलर बुझेका छन्।

उनले सुरेश पोखरेलबाट २५०० युरो लिएका छन्। होटल फ्यामिली पिस सोह्रखुट्टेबाट तीन लाख रुपैयाँ लिएका छन्।

महेशप्रसाद वाग्लेबाट नाजिरले २५०० अमेरिकी र अष्ट्रेलियन डलर लिएको खुलेको छ।

उनले विदुर पौडेलबाट ७०० डलर लिएको खुलेको छ।

प्रमिला दनैबाट नाजिरले पटक-पटक गरेर २८००, १००० डलर, २००० डलर लिएको खुलेको छ। यो सबै नर्वे उडाउन भनी लिइएको रकम हो।

विमलबाटै ६ लाख रुपैयाँ नाजिरले लिएको पत्ता लागेको छ।

विकास तामाङबाट २००० अमेरिकी, ३००० क्यानेडियन डलर लिएको अनुसन्धानमा खुलेको छ।

विश्वास काफ्लेबाट नाजिरले ७ लाख रकम लिएको खुलेको छ।

‘जाहेरी आएका मानिसहरू यिनै हुन्,’ रेग्मी भन्छन्, ‘अरू पीडित आउँदैछन्, हामीलाई सूचना आएको छ।’

यो रकम नाजिरले सन् २०२१ देखि सन् २०२३ सेप्टेम्बरसम्म लिएको देखिएको छ। नाजिर पाकिस्तानी नागरिक भए पनि उनी कसरी अजरबैदानमा पुगे भन्ने विषय शंकास्पद छ।

अजरबैदानकी युवतीसँग उनको कसरी चिनजान भयो भन्ने स्पष्ट हुन सकेको छैन। तर, अजरबैदानमा उनको कम्पनी रहेको चाहिँ त्यहाँ पुग्ने वलीले बताइरहेका छन्। त्यो कम्पनीको आधिकारिकता खुलेको छैन।

ती युवतीलाई के-कसरी नाजिरले प्रयोग गरेका हुन् भन्ने खुलेको छैन। ती युवतीले आफूलाई रकम बुझ्ने प्रयोजनका लागि नाजिरले प्रयोग गरेको बताउने गरेकी छिन्।

उनले प्रहरीलाई भनेकी छिन्, ‘मलाई रिहा गरियोस्, नाजिरले मेरो खातामा रकम पठाउने गरेका मात्र हुन्।’

तर, ती युवतीले पाएको रकम कहाँ खर्च गरेको भन्ने कुरा बताएकी छैनन्।

‘हामीले थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रहरी परिसरमा पठाएका छौं,’ रेग्मीले भने, ‘ठगीको कहानी लामो छ, विस्तारै अन्य प्रकरण सार्वजनिक हुँदैछन्।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा नाजिरले नक्कली अफर लेटर, वर्क पर्मिट, भिसालगायतका कागजातहरू दिएर पीडितलाई रकम पठाउन लगाउने गरेको उल्लेख छ।

उनीहरूले भिसा प्रोसेसिङको लागि पेरतिव्यक्ति १००० डलर लिने गरेको कार्यालयले बताएको छ।

प्रकाशित: २०८० असोज १८ गते बिहिबार ०८:१०
Sanket

खिलानाथ ढकाल

ढकाल सुशासन र अपराध क्षेत्रमा कलम चलाउँछन्।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना