काठमाडौं – हिन्दु र मुस्लिम समुदायबीचको तनावले अशान्त नेपालगञ्जमा दिउँसो निषेधाज्ञा र राति कर्फ्यू आदेश जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेका हुन्।
निषेधाज्ञाको समय शुक्रबार राति ८ बजेसम्म तोकिएको छ। आचार्यका अनुसार त्यसपछि कर्फ्यू लगाउने निर्णय गरिएको छ।
कर्फ्यू र निषेधाज्ञा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र छ।
निषेधाज्ञा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो उतत्तरमाराँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकासम्म लागू गरिएको छ।
ती स्थानमा भेला, जुलुस, सभा बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता सामग्री टाँस्न र लेख्न पाइने छैन। हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।
शुक्रबार राति ८ देखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश रहन्छ।
सामाजिक सञ्जालमा लेखेको विषयमा हिन्दु-मुस्लिम समुदायबीच नेपालगञ्जमा तनाव सिर्जना हुँदै आएको छ।



