काठमाडौं- पोखरामा सहकारी ठगी गरेको अभियोग लागेका ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु राई (जिबी)सहित १९ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ।
पोखरा नालामुखस्थित सूर्यदर्शन सहकारीका अध्यक्ष राईसहितका व्यक्तिमाथि जिल्ला अदालत सरकारी वकिलको कार्यालय कास्कीले बिहीबार मुद्दा दायर गरेको हो।
राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५.१७ रुपैयाँ बिगो माग गरी ठगीको मुद्दा दायर गरिएको जिल्ला न्यायाधीवक्ता गोपालप्रसाद ढकालले नेपाल क्लिक्सलाई बताए।
उनका अनुसार यो ठगीमा राईसहित १८ जना फरार छन्। सूर्यदर्शनका कोषाध्यक्ष कुमार रम्तेललाई मात्रै प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।
‘आज (शुक्रबार)देखि रम्तेलसँग सरकारी वकिलले बयान लिन थालेको छ, आइतबार बयान सक्ने योजना छ, त्यसपछि थुनछेक बहस सुरू हुन्छ,’ ढकालले भने।
राईसहित १९ जनाविरूद्ध १ हजार ३५ जना बचतकर्ताहरूले ठगीमा जाहेरी दिएका थिए। प्रहरीले तीन दिनअघि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।
राईसहित १९ जना प्रतिवादीसँग बिगोसँगै ८ देखि १० वर्षसम्म जेल सजायको माग दाबी लिइएको ढकालले जानकारी दिए।
राई यो ठगीका मुख्य नाइके हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग निकट छन्।
ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन गर्दा राईले लामिछानेको साथ लिएका थिए। लामिछाने पत्रकार रहँदा राईले टेलिभिजन सञ्चालन गरेका थिए। लामिछाने अहिले सांसद पनि छन्।
लामिछानेसँग जोडिएपछि आफ्ना अवैध कारोबारको कानुनी उल्झन किनारा लाग्ने सोचेका राई अहिले तिनै कारोबारका कारण ‘फरार’ बन्नुपर्ने परिस्थिति सिर्जना भएको छ।
राई नेपालमा प्रतिबन्धित नेटवर्किङ कारोबारसँग जोडिएका व्यक्ति पनि हुन्।
उनले चलाएको नेटवर्किङ कम्पनी नेचर हर्बस् इन्टरनेसनल प्रालि हो। शंखमुल काठमाडौंबाट कारोबार थालेको उक्त कम्पनीले २०७७ असार १ गतेबाट सञ्चालनमा आएको थियो।
नेपालमा व्यवसाय दर्ता गरी कानुनसम्मत रहेको भन्दै नेचर हर्बको कारोबार चलाइए पनि त्यसलाई वाणिज्य तथा आपूर्ति विभागले ‘गैरकानुनी’ भन्दै आएको छ।
विभागमा ‘डाइरेक्ट सेलिङ’को नाममा अनुमति लिँदा यसका सञ्चालकहरू ओखलढुंगा घर भएका गितेन्द्रबाबु राई (जिबी) र काठमाडौं घर भएका छविलाल जोशी थिए। अनुमति पाइकन यो कम्पनीले विदेशी सामान ल्याएर बिक्री-वितरण गरिरहेको थियो, अहिले पनि छँदैछ।
तर, कारोबार सुरूलगत्तै सञ्चालक राई र जोशीले नेचर हर्बको सेयरर अर्कै व्यक्तिलाई नामसारी गरे। उनी थिए – कुमार रम्तेल।
राईले आफ्नो ९० लाख रूपैयाँ सेयर ललितपुर घर भएका रम्तेलको नाममा हस्तान्तरण गरे। छविलाल जोशीले आफूले हालेको १० लाख सेयर तनहुँका रामबहादुर खनाललाई नामसारी गरे।
जोशी नेपाल प्रहरीका पूर्वडिआइजी हुन्। राई र जोशीले असार १ गते कम्पनी दर्ता गर्दा हालेको सेयर असार २८ गतेभित्र अर्का व्यक्तिको नाममा पुगिसकेको थियो।
उनीहरू दुबैले कम्पनी सञ्चालन गरेको एक महिना नपुग्दै किन सेयर बिक्री गरे भन्ने विषय ‘शंकास्पद’ थियो, अहिले तिनै रम्तेल राईका विभिन्न सहकारीमा जोडिएको खुल्दा उनीहरूको सम्बन्ध थप स्पष्ट भयो।
यसरी कारोबार गर्दा राई र जोशीका दुई थरी उद्देश्य थिए। पहिलो, कम्पनीमा पछि कानुनी झन्झट आए म व्यहोर्दिनँ भनी पन्छिने।
अर्को, सजिलो काम आफू गर्ने र अफ्ठेरो काम अरूलाई पन्छाउने। तर साहू चाहिँ आफू नै रहने र मुनाफा लिइरहने।
राई र जोशीले यही गरेको देखिएको विगतमै सतहमा आएको तथ्य थियो।
पर्सामा गितेन्द्रको अर्को सहकारी ठगी, त्यहाँ पनि उनी फरार
गितेन्द्रबाबुको ठगी धन्दा कास्कीमा मात्रै छैन, पर्सा जिल्लामा पनि छ।
प्रहरीका अनुसार पर्सामा राईसहित १३ जनाविरूद्ध अर्को पक्राउ पूर्जी जारी भएको छ।
पर्सा वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको आरोपमा राईसहित १३ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले राईसहित १३ जनाविरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको बताए।
उनीहरूमध्ये कर्जा अधिकृत राधेचन्द्र यादव पक्राउ परेका छन्।
पक्राउ पूर्जी जारी भएका अन्यमा निवर्तमान उपाध्यक्ष नेहा पौडेल, सचिव तस्वीरन मियाँ, कोषाध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर छन्।
यस्तै, सहकारीका पूर्वकोषाध्यक्ष कुमार रम्तेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। रम्तेल यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी कास्कीमा पठाएको थियो।
पक्राउ पूर्जी जारी हुनेमा सानोपाइला सहकारीका सञ्चालक समिति सदस्यहरू देबेन्द्रबाबु राई, थानबहादुर बुढामगर, धिरजकुमार दास, पूर्वउपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्वसदस्य अशोक यादव, प्रबन्धक असरफ अलि छन्।
पर्सा प्रहरीमा दिनहुँजसो उक्त सहकारीका बचतकर्ताहरूले ठगीको निवेदन दिइरहेका छन्।
सुरूमा राईसहितका व्यक्तिविरूद्ध सानोपाइला सहकारीमा आवद्ध २३ जनाले जाहेरी दिएका छन्। उनीहरूले २ करोड ७९ लाख ४३ हजार ८२१ रुपैयाँ ठगी गरेको जाहेरी दिएका थिए।
त्यसपछि थप ११ जनाले जाहेरी दिएका छन्। ११ जनाले ९९ लाख २५ हजार ९६१ रुपैयाँ ठगी भएको उल्लेख गरेका छन्।
कास्की र पर्साले राईलाई फरार सूचीमा राखेको छ। राई नेपाल वा विदेश कहाँ छन् भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन।

