काठमाडौं – सर्लाही लालबन्दीस्थित झलनाथ खनाल स्वासथ्य विज्ञान प्रतिष्ठानको नामा करिब १८ करोड भ्रष्टाचार भएको छ।
अख्तियार दुरुयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार र लालबन्दी नगरपालिकाका तत्कालन मेयर मानबहादुर खड्काविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरूसँग १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ बिगो, जरिवाना र सजाय माग गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता भोला दाहालले बताए।
प्रतिष्ठान नेपालको सहकार्यमा एन्टी भेनमको उत्पादन गर्ने प्रयोजनका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमममै समावेश गरिएको थियो।
नेपाल सरकार र प्रदेश सरकारको लागत सहभागिताका आधारमा प्रदेश सरकारबाट विनियोजित र संघीय सरकारबाट समेत प्राप्त समपूरक अनुदान रकम सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि भौतिक संरचना निर्माण गर्ने भनिएको थियो।
कुमार र खड्काले आफूलाई नभएको अधिकार समेत प्रयोग गरी प्रचलित कानुन विपरीत लागत साझेदारी शून्य रहेको प्रतिष्ठान नेपाल नामको गैरसरकारी संस्थालाई सरकारी रकम उपलब्ध गराएको अख्तियारको आरोप छ।
सोही संस्थाबाटै कार्यक्रम कार्यान्वयन र खर्चको लेखांकन गर्ने गरी उक्त गैरसरकारी संस्था/कम्पनीका अध्यक्ष रेवतीप्रसाद पन्तसँग त्रिपक्षीय समझदारी-पत्रमा हस्ताक्षर गरिएको थियो।
सोही समझदारी-पत्रका आधारमा प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट लालबन्दी नगरपालिकालाई र त्यो नगरपालिकाबाट उक्त गैरसरकारीकम्पनीलाई बदनियतपूर्वक सरकारी रकम निकासा गराएको अख्तियारले जनाएको छ।
यस्तै, मुद्दा दायर भएका अन्यमा मधेस प्रदेश आर्थिक मामिला मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, प्रतिष्ठानका सञ्चालक समिति पदाधिकारीहरू रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय छन्।


