केही समय अगाडि मेरो ट्विटर फिडमा एउटा ट्विट पप अप भएर आयो : ‘विन्टर रेन। ह्वेयर आर यु?’ कसले ट्विट गरेको थियो बिर्सिएँ। कि बिर्सिएको छैन कि मलाई थाहा छैन। असलमा मलाई थाहा नपाउनु भनिएको छ। मलाई बिर्सन सिक्नु भनिएको छ। मैले बिर्सन जान्नेछु या छैन, मलाई थाहा छैन। तर जे होस्, यत्तिखेर झरीले भने मलाई बिर्सिएको छ।
000
बिर्सुँ भन्दाभन्दै पनि मनमा गढेको कुरा याद आइहाल्दो रहेछ। झरी शब्द कतै देख्ने/सुन्ने बित्तिकै मलाई नाजिर काजमीको गजलको एक शेर याद आउँछ।
याद आई ओ पहली वारिस
जब तुझे एक नजर देखा था
पुस माघको ठिहीमा, जब पानी पर्छ, म फुरुक्क फुर्किँदै पानीमा भिज्न गइहाल्छु। असारसाउनको झरीभन्दा पुसमाघको झरी मन पर्छ मलाई। रुह नै चिसो पारेर रुझाउँछ।
आकाशतिर हेरेर, आफ्ना अनुहारभरि पानीका थोपाहरूले चुमेको खुब मनपर्छ। खासमा झरीको संगीत हुन्छ। झरीको आफ्नो छुट्टै कला हुन्छ। झरीको बास्ना हुन्छ। उसो त कयौं लेखकहरूका लागि झरी पीडाको पर्याय पनि हुँदो हो। मरगुव अलीले आफ्नो गजलको शेरमा लेख्छन् :
भीगी मिट्टी की महक प्यास बढा देती है
दर्द वर्षात की बुदों मे वसा करता है
सानोमा झरीमा रुझिरहेको मलाई देखेर हजुरआमा गाली गर्न थाल्नुहुन्थ्यो। तर म टेर्दैनथेँ। भिजेर रमाएको देखेर हजुरआमा मलाई समाउन दौडिनुहुन्थ्यो। मलाई समाउन दौडिएकी हजुरआमाले आफ्ना कसिला पाखुरामाझ मलाई राखुन्जेलसम्म आफू पनि निथ्रुक्क भिजिसक्नुभएको हुन्थ्यो।
चुम्नु र वर्षा हुनु दुई फरक कुरा हुन्। अघिसम्म मेरो अनुहारलाई चुमिरहेको झरी अब खरको छानामा बर्षिएको हुन्थ्यो। म कपडा फेरेर झ्यालछेउमा आएको केही समय सम्ममा मरिच हालेको कालो चिया र मकै भटमास आइसकेको हुन्थ्यो। खरको छानाबाट एकतमासले जमिनमा खसिरहेको झरी हेरेर म खुब रमाउथेँ। अनि हजुरआमाले नदेख्ने गरी खरको छतबाट जमिनमा झरिरहेको पानीको गतिलाई रोक्न कहिलेकाहीँ म हातमा पानी थापिरहन्थेँ। मेरो कलिलो हातमा झरी खस्थ्यो।
मैले गाउँ अनि हजुरआमाले सुनाउने परीका कथाहरू बिर्सिएँ कि बिर्सिएको छैन, मलाई थाहा छैन। आफ्नो गाउँ छोडेर यो अन्जान सहरमा शरणार्थी बन्न किन आए, मलाई थाहा छैन। मैले सहर आएर के पाएँ? के पाइनँ? मलाई थाहा छैन। सहरमा पनि पानी पर्दा उसैगरी भिजिदिन्छु। अनि सहरको झ्यालबाट देखिने निरस दृश्य हेर्दै कालो मरिच हालेको चिया पिउँछु। गाउँबाट कसैले मकै भटमास ल्याइदिएको रहेछ भने, गाउँ सम्झिँदै झ्यालबाट हेर्ने कोसिस गर्छु। झ्यालमा झरीले हिर्काउँछ। मनमा यादहरूले।
000
सन् २०२० मा मुस्ताङका स्थानीयबासी टासी विष्टले एउटा डकुमेन्ट्री बनाएका छन्: ह्वेन ग्ल्यासियर्स गो : लाइफ विथआउट वाटर। द न्यूयोर्करमा प्रकाशित यो डकुमेन्ट्रीको बीचतिर एउटा सानो बालक आफ्नो गाउँका आसपासका घरहरू देखाउँदै भनिरहेको हुन्छ:- ‘यो घरमा अब कोही मानिसहरू बस्दैनन्।’ ऊ अर्को पनि घर देखाउँदै भन्छ:- ‘यो घरमा पनि कोही मानिसहरू बस्दैनन्।’ ऊ फेरि अर्को घर देखाउदै भन्छ : ‘यहाँ कोही पनि मानिसहरू बस्दैनन्। त्यसैले यो घरमा ताल्चा लागेको छ।’

धे गाउँ। तस्बिर: टासी विष्ट
केहीबेर पछि ऊ डकुमेन्ट्री मेकरहरूलाई आफ्नो पुरानो विद्यालयतिर डोहोर्याउँदै विद्यालयको चर्केको भित्ताबाट भित्रतिर चिहाउँदै भन्छ:- ‘भित्र केही घाँस र एउटा कालोपाटी देख्न सकिन्छ। यो हाम्रो विद्यालय अब बन्द भईसकेको छ।’
000
ह्वेन ग्लासियर्स गो, मुस्ताङको धे गाउँको कथा हो, जुन गाउँ हाल विस्थापित भइसकेको छ। त्यहाँ बसोबास गर्ने परिवारहरू जलवायु परिवर्तनको शिकार भएका छन् र उचित वर्षा नभएको कारण, उनीहरू नयाँ बासस्थानको खोजीमा आफ्नो गाउँ छोडेर हिँडेका छन्। चम्बले पुगेका केही युवाका बाआमा भने अझै पनि गाउँमै बसिरहेका छन्। उच्च उचाइको मरुभूमि क्षेत्रमा हिमनदीहरू र पानीका मुहानहरू सुक्न थालेपछि र लामो समयसम्म पनि वर्षा नभएपछि उत्पन्न भएको खडेरीले त्यहाँ जनजीवनका विकल्पहरू सीमित हुन थालेका छन्।
सन् २०२२ नोभेम्बर १४ मा नेपाली टाइम्सले टासी विष्टसँग गरेको कुराकानीमा टासी विष्ट भन्छन् :
‘जब म हुर्किरहेको थिएँ, त्यहाँ वर्षा कम हुन्थ्यो र नाटकीय रुपमा तापक्रमको उतारचढाव पनि थिएन। हिमनदी पग्लिएर आएको पानीले मानिसहरूलाई बसन्त ऋतुमा आफ्नो जमिन सिँचाई गर्न सजिलो हुन्थ्यो। म सानो छँदा माथिल्लो मुस्ताङमा स्याउ फल्दैनथ्यो तर उच्च उचाईमा समेत अहिले तापक्रम बढ्न थालेकाले मानिसहरू बगैंचा बनाउन थालेका छन्। जब फसलको समय हुन्थ्यो त्यो बेला हाम्रो गाउँमा बिभिन्न ठाँउबाट चराहरू आउने गर्थे। तर आजकाल तिनीहरू निकै ढिला मात्र आउछन् किनकि वर्षको अन्त्यसम्म पनि चिसो भएको हुँदैन। आजकाल माथिल्लो मुस्ताङमा सलह र अन्य प्रजातिका कीराहरू पनि देखिन थालेका छन् जुन पहिला कहिल्यै देखिदैनथ्यो। यसले प्रष्ट रुपमा देखाउछ कि जलवायु परिवर्तन हुँदैछ।’
उसो त धे गाउँकै कथा पनि बेग्लै छ। ग्रासरुट जर्नल अफ न्याचुरल रिसोर्सेसमा प्रकाशित प्रज्ञा शेरचनको जर्नलका अनुसार धेका मानिसहरू समुद्री सतहदेखि ५००० मिटरमाथिको घ्याउ/घ्याउल गाउँबाट बसाइसराइ गरी आएका हुन्।

स्थानीय भाषाअनुसार जहाँ ‘घ’ भनेको हिमाल र ‘युल’ भनेको गाउँ बुझिन्छ। घ्याउल भृकुटी हिमालको फेदमा अवस्थित छ जसलाई ‘नक्कली दामोदरकुण्ड’ नामले पनि चिनिन्छ। तर हाल भने यो ठाँउलाई ‘घ्याउ खर्क’को नामले चिनिन्छ। घ्याउलमा अझै पनि मानवबसोबासका अवशेषहरू देख्न सकिन्छन्।
घ्याउलबाट मानिसहरू समुन्द्री सतहबाट ३००० मिटर माथिको झोंग गाउँमा सरे। स्थानीय भाषामा झोंगको अर्थ गुफा हुन्छ। झोंगबाट उनीहरू धे सरे। धे भने समुन्द्री सतहबाट ४००० मिटरको उचाइमा रहेको छ। पशुपालन र फसल उत्पादनमा निर्भर बासिन्दाहरू भू–क्षय, वातावरण, फसलको लागि उपयुक्त जमिन नभएको र त्यहाँ हिमपहिरोको जोखिम भएको कारण घ्याउलबाट झोंग सरेका उनीहरू झोंगबाट पनि पानीको अभाव, फसलको लागि पुग्दो जमिन नभएका कारण र पशुचरणको लागि ठाँउ नभएको कारण धेमा बसाइ सरेका थिए। उल्लिखित तीन गाउँमध्ये मानिसहरूको बसोबासको लागि सबैभन्दा उपयुक्त उनीहरूको लागि धे नै थियो।
तर टासी विष्टको ह्वेन ग्लासियर्स गो भिडियो बुझ्ने हो भने अब उनीहरू धेबाट पनि बसाइ सरिसकेका छन्।
000
पर्याप्त पानीकै अभावको कारण विस्थापित हुनुपरेको अर्को गाउँ हो मुस्ताङकै सामजोङ। खोलामा पानीको सतह कत्रो हुने भन्ने कुरा हिँउदमा पर्ने हिँउमा भर पर्ने हुन्छ जुन हरेक वर्षजस्तो परिवर्तन भइरहन्छ। सामान्य रुपमा वर्षा जसरी हुनुपर्ने थियो त्यो नभएपछि, र लामो समयपछि हुने अत्यधिक वर्षाका कारण त्यो पानीले बाढी र पहिरो निम्त्याउँछ। फलस्वरुप गाउँमा सिचाईको नहर नै बगाइदिने गर्दछ र त्यसले गर्दा उत्पादनमा ह्रास आइदिन्छ।
सामजोङ जस्तै अर्को गाउँ हो यारा। २३ सेप्टेम्बर २०१५ मा आयसा शाक्यले डाउन टु अर्थ पत्रिकाको लागि याराका स्थानीयबासीसँग कुरा गर्दा त्यहाँका स्थानीय बासी करसाङ गुरुङ भन्छिन्:- ‘पहिला हामी गहुँ, फापर र तोरीको बाली वर्षमा दुईपटक लगाउथ्यौँ। पानीको कमीसँगै हामीले वर्षमा एकपटक मात्र बाली लगाउन थाल्यौँ। तर समस्या झनै बढिरहेको छ, किनकी बाली लगाउने समयसम्म पनि बालीको लागि जमिनमा पर्याप्त पानी हामीले पुर्याउन सकेका छैनौँ।’

सन् २०१५ मा नै प्रकाशित यो आर्टिकलमा सामजोङका बासिन्दाहरूले अत्यधिक बाढीको कारण फसल उब्जाउन नसकेपछि गाउँ नै छोडेर मुस्ताङका राजासँग नयाँ बासस्थानको माग गरे र राजाले उनीहरूलाई लो मान्थाङ नजिकैको नामासुंगमा बस्ती बसाल्न सहयोग गरे भनेर पनि लेखिएको छ। जलवायु परिवर्तनकै कारण, कहिले अत्यधिक वर्षा भएर बाढी पहिरो आउने त, कहिले निकै कम वर्षा हुने यो स्थिति २०१५ बाट २०२३ सम्म आइपुग्दा कति कहालीलाग्दो भयो होला भन्ने कुरा हाम्रो अनुमानभन्दा पनि धेरै बाहिर गइसकेको हुनुपर्छ।
२०१५ मै त्यहाँको जनजीवन कति कष्टकर थियो भन्ने कुरा नेपाली टाईम्सले बनाएको डकुमेन्ट्री हाई एन्ड ड्राई : वाटर क्राईसिस ईन सामजोङ एन्ड यारा हेरियो भने पनि बुझ्न सकिन्छ।
000
जलवायु परिवर्तनको असरले निम्त्याएको अत्यधिक वर्षा वा एकदमै कम वर्षाका कारण खेतीपातीमा असर हुने त छँदैछ, त्यो भन्दा पनि अप्ठ्यारो र दुखदायी परिणाम भनेको चाहिँ गाउँ नै छोड्नुपर्ने अवस्था हो। सरल भाषामा भन्नुपर्दा ती मानिसहरू आफ्नो गाउँ छोडेर शरणार्थी बन्दै भौँतारिएका छन्। यद्यपि उनीहरू आफ्नै देशमा छन् तर थातथलो छोडेर विस्थापित भएर हिँड्नुपर्दाको पीडा, यसरी हिँडेकाहरू बाहेक अरुले बुझ्न सक्दैनन्।
हाइड्रोलोजिकल साइन्सेस जर्नलमा एस. नादर्गी र ओ. एन. धारले लेखेको ‘एक्स्ट्रिम रेनफल ईभेन्ट्स ओभर द हिमालयज विट्वीन १८७१ एन्ड २००७’ मा लेखिएअनुसार सन् १९५० पछिको हरेक दशकमा एकदिने वर्षा उल्लेखनीय रुपमा वृद्धि भएको पाइएको थियो। तर सन् २००० देखि सन् २००७ सम्मको समयमा हेर्ने हो भने वर्षाको यो मात्रा एक्कासी घटेको पाइयो। यसले गर्दा अत्यधिक सुख्खा र खडेरीहरू पर्न थाले। फलस्वरुप कहिलेकाँही पर्ने अत्यधिक वर्षाको कारण बाढी र पहिरोका घटनाहरू उल्लेख्य रुपमा बढ्न थाले।
सन् २०१९ जुन १९ मा साइन्स डेलीमा प्रकाशित एक जर्नलले हिमालय क्षेत्रमा हिमनदीहरू पग्लने क्रम दोब्बर रुपमा बढेको भन्नेबारे समाग्री प्रकाशित गरेको छ, त्यसलाई रिफरेन्स लिएर द रेकर्ड पत्रिकामा जलवायु परिवर्तनका कारण विस्थापित नेपालीहरू शीर्षकमा सुभम रिजालले फेब्रुअरी १, २०२२ मा लेख्छन्:- २१औँ शताब्दीको सुरुवातदेखि नै हिमालका हिमनदीहरू पग्लने क्रम नाटकीय रुपले बढिरहेको छ। भारत, चीन, नेपाल र भुटानमा उपग्रहहरूको सहायताले ४० वर्षदेखि गरिएको अध्ययनअनुसार सन् २००० देखि हरेक वर्ष एक फिट भन्दा बढी हिँउ पग्लिरहेको छ जुन १९७५ देखि सन् २००० सम्म हिमनदी पग्लिने क्रमभन्दा दोब्बर बढी हो। जलवायु परिवर्तनको यो पछिल्लो अध्ययनले प्रष्ट रुपमा देखाउँछ कि हिमनदीहरू जसरी सकिँदैछन्, त्यसले एसियाली भेगका करोडौँ मानिसहरूका लागि पानीको आपूर्ति खतरामा पार्दै जाँदैछ भन्ने कुराको स्पष्ट संकेत गरिरहेको छ।

तस्बिर : आईओएम
द ल्यान्सेट ग्लोबल हेल्थ पत्रिकाका अनुसार, उच्च हिमाली क्षेत्रमा पानीको अभावले खाद्यान्न उत्पादनमा संकट जस्ता कारणले मानिसको दैनिक जीवन विभिन्न रुपमा कष्टकर त बनाइरहेकै छ, सँगसँगै जलवायु परिवर्तनको कारण उच्च हिमालीय क्षेत्रमा समेत लामखुट्टेजस्ता परजीवीहरूको कारणले गर्दा मानिसहरूमा मलेरिया र डेंगुको प्रकोप पनि बढ्दो देखिन्छ।
000
केही वर्षअगाडि म आफै पनि दोलखाको पर्यटकीय तथा धार्मिक क्षेत्र कालिन्चोकको यात्रामा पुगेको थिएँ। कालिन्चोकदेवीको मन्दिर समुद्री सतहदेखि ३८४२ मिटरको उचाईमा अवस्थित छ। त्यहाँ बसोबास गर्ने मानिसहरू हिउँदको समयमा पानीको लागि ठूलो त्रिपालमा हिउँ राखेर, त्यो हिउँ पग्लेको पानीमा निर्भर रहने गर्दथे। तर अहिले त अवस्था यस्तो आएको छ कि, हिउँ कहिले पर्ने हो भनेर पनि ठेगान छैन। हिउँ पर्ने महिनाहरू निकै सुख्खासुख्खा बितिरहेका छन्। वर्षा भईहाले पनि कति मात्रामा वर्षा हुने हो भन्ने कुराको समेत यकिन छैन। फलस्वरुप सुख्खा जमिनहरू घाम चर्किएपछिको वर्षा सहन नसकेर पहिरो बनेर झर्ने गर्दछन्।
स्पष्ट छ, जलवायु परिवर्तनको मारमा फेरि पनि गरिब राष्ट्रहरू अझै बेसी परिरहेका छन्। गरिब राष्ट्रका पनि गरीबीको रेखामा पिल्सिएका मानिस, जो निकै कम जमिनमा आफ्नो फसल उत्पादन गरेर जीविकोपार्जन गर्न बाध्य छन्, उनीहरू यसको मारमा पर्दछन्। झन् जब गाउँ नै छोडेर विस्थापित हुनुपर्ने स्थिति आउछ, त्यो निकै भयावह हुने गर्दछ।
कतै पानीको अभाव त कतै अत्यधिक वर्षाको कारण मानिसहरूले बाढीपहिरोको पनि उत्तिकै सामना गर्नुपरिरहेको छ। २१ अगस्ट २०१७ मा फरिद अहमद, द वायर को लागि लेख्छन्:- मनसुनी बाढीका कारण, नेपाल, भारत र बंगलादेशमा १ करोड ६० लाखभन्दा बढी मानिस विस्थापित हुन तथा खाना र बत्तीको अभावको कारण मर्न बाध्य छन्। द वायर मा फरिद अहमद, एविसी न्यूजका डा सुरज आचार्यको कुरा उद्धृत गर्दै लेख्छन्:- नेपाल सरकारको रेकर्ड अनुसार बाढी प्रभावित क्षेत्रमा १३४ जनाको मृत्यु र ३० जना बेपत्ता भएका छन्।
000
बाढीको कारण मृत बालकको शव गाढ्नको लागि ठाँउ नपाएको कान्तिपुरमा प्रकाशित फोटोलाई उल्लेख गर्दै २०१७ अगस्ट १८ मा पिटर गिल र भोला पासवान, हाईड्रोलिक ईन्जिनियर तथा जलविज्ञ अजय दीक्षीसँग कुरा गर्दै द डिप्लोम्याट पत्रिकामा लेख्छन् :- दलितहरू र गरिबहरू सबैभन्दा बढी बाढीको चपेटामा पर्छन् किनभने तिनीहरू प्रायः सम्भावित बाढी प्रभावित क्षेत्रमा बसोबास गर्छन्। तिनीहरू आफैँ त्यहाँ गएर बसेका हैनन, तर उनीहरू ऐतिहासिक, सामाजिक र अन्य कारणले गर्दा त्यस्ता क्षेत्रमा बस्न बाध्य छन्।

शव गाड्न ठाउँ नपाएपछि नदीमा सेलाउँदै एक बाढीपीडित। तस्बिर : नरेन्द्र श्रेष्ठ/युरोपियन प्रेस फोटो एजेन्सी
यसै सन्दर्भमा डा. मिनानी गुरूङ द अन्नपूर्ण एक्सप्रेसमा सन् २०२२ मार्च ६ को आफ्नो जलवायु परिवर्तन र बसाइसराई शीर्षकमा लेख्छिन्:- जलवायु परिवर्तनको कारणले उत्पन्न हुने बसाइसराइको स्थिति भविष्यको कल्पना हैन, बल्कि यो आजको विश्वव्यापी वास्तविकता हो।
हाल पृथ्वीको मौसम, मानव इतिहासको कुनै पनि कालखण्डभन्दा पनि छिटो दरमा परिवर्तन भइरहेको छ र हाल उत्पन्न भइरहेको जलवायु संकटले हाम्रो संसारलाई पुनः परिभाषित गर्दैछ।
विश्व बैंकको अनुमानलाई हेर्ने हो भने सन् २०५० सम्ममा जलवायु परिवर्तनका कारण दक्षिण एसियाका देशहरू बंगलादेश, भुटान, भारत माल्दिभ्स, नेपाल लगायतले आफ्नो वार्षिक कुल ग्रार्हस्थ्य उत्पादनको १.८ प्रतिशत गुमाउनेछन्। यसको परिणाम धेरै मानिसहरूको सामूहिक बसाइसराइ सम्भवतः अभूतपूर्व हुने कुरालाई नकार्न पनि सकिन्न।
नेपालको अवस्थालाई थप चित्रित गर्दै डा. गुरुङ लेख्छिन्:- गरिबी, सीमान्तीकरण, राज्यको उपेक्षा, असमानता, भेदभाव र बाहिरी बसाईसराईले हिमालयको देशलाई सँधै नै पिरोलेको छ र यी समस्याहरू जलवायु परिवर्तनभन्दा अगाडि छन्। तर यी सबै वर्तमान संरचनात्मक समस्याहरूलाई ग्लोवल वार्मिंगले झनै बढावा दिएको छ। १ करोड ३० लाख मानिसहरू हिमनदीमा निर्भर छन् र हिमालमा जसरी बरफहरू पग्लिने क्रम बढ्दो छ, यसले विनाशकारी प्रभाव पार्नेछ। हिमालको मध्य र पूर्वी क्षेत्रका हिमनदीहरू बर्षेनि ३० मिटरका दरले घट्दै गएका छन्।
हिमाली गाउँमा आधा युवाहरू कुपोषणको सिकार छन्। नेपालको राष्ट्रिय गरिबी दर २३ प्रतिशत छ, तर ती गरिबहरूमध्ये पनि ४२ प्रतिशत हिमाली बासिन्दाहरू हुन्। मौसममा देखिएको फेरबदल र जलवायु परिवर्तनको सामना गर्दै गरिबहरू पहिले नै बसाइसराइ गर्न बाध्य भएका छन्।
000
मानिसहरूका लागि मानिसले नै बनाएको नियम छ। सामुदायिक नियम होस् वा पौराणिक, देशकै नियम होस् वा सांस्कृतिक, यी नियमहरूले मानिसहरूलाई एक आपसमा बाँधेर राखेको छ। तर मानिसहरूकै कारण प्रकृतिले बिस्तारै मानिसहरूको लागि नियम बदलिँदै गएको छ। बदलिएको नियमसँग मानिसहरूलाई अभ्यस्त हुन निकै सकस परिरहेको छ। त्यसकारण उनीहरू त्यस नियमसँग जुध्न नसकेर गाउँ नै छोडेर विस्थापित हुन बाध्य छन्।
रमेश भूषाल र नवीन बरालले सन् २०२० जुन ५ मा द थर्ड पोल पत्रिकाका लागि एउटा भिडियो बनाएका छन् जसमा खोटाङ जिल्लाका पुरानोगाउँ र निभारेका बासिन्दाले गाउँ छोडेर हिँडेको कथा छ। भिडियोको सुरुवातमै पानीको अभावको कारणले मानिसहरूले बस्ती छोड्नुपरेको कुरा गरिएको छ, जसमा सुरुवातमै पुरानोगाउँको कथा बताउँदै भनिएको छ, यो गाउँमा २७ घरपरिवार थिए, तर हाल ४ मात्र बाँकी छन्।
000
हिमाली भेगका कथाहरू एउटा छन्। तर पहाडी भेग र तराईका भूभागहरू पनि पानीको अभाव वा अत्यधिक वर्षाका कारण प्रभावविहीन भने रहेर बसेका छैनन्। सन् २०२१ अगस्ट ४ मा बीबीसीमा प्रकाशित समाचारका अनुसार असार १ तथा साउन १६ गते आएका बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा मात्र ३० अर्ब रुपैयाभन्दा धेरैको क्षति भएको थियो। १५०० रोपनी जग्गामा क्षति पुगेको थियो भने २१५ परिवार विस्थापित हुनुपरेको थियो।
मेलम्चीकै कुरा गर्दा, मेलम्चीको पानी देशको राजधानी काठमाडौँ कुरिरहेको छ। हरेक सरकारको नीति तथा कार्यक्रममा पर्ने मेलम्ची आयोजना काठमाडौँमा कहिले आईपुग्ने हो भनेर कसैले यकिनका साथ भन्न सक्ने अवस्था छैन। तर काठमाडौँ उपत्यकाका धेरै क्षेत्र आजकाल मनसुनको समयमा पर्ने झरीमा आहालमा डुबेझैँ डुब्ने गरेका छन्।
बाढीको कारण कोशी नदीजस्ता ठूला नदी छेउका गाउँहरू डुबानमा परिरहन्छन्। ‘बाढी र पहिरो’ लेखेर गुगल सर्च मात्र गर्ने हो भनेपनि पत्रपत्रिकामा प्रकाशित समाचारहरूले कहालीलाग्दो स्थिति बताउँछन्। मानौँ बाढी र पहिरोको कारण विस्थापित हुने, मृत्यु हुने, बेपत्ता हुनेको संख्या नेपालका पत्रपत्रिकाहरू गन्ती गर्दै थाकिसकेका छन् तर पनि उनीहरू समाचार हाल्नैपर्ने बाध्यताका कारण यी कहालीलाग्दो स्थितिका समाचारहरू सम्प्रेषण गरिरहेका छन्।
छापामा जलउत्पन्न प्रकोपसम्बन्धी रिपोर्टिङ शीर्षकमा, द मार्टिन चौतारीको लागि एक लामो अध्ययन लेखेका ङमिन्द्र दाहालका अनुसार छापामा बाढी पहिरोसँग सम्बन्धित रिपोर्टिङ मुख्य दुईवटा सन्दर्भमा देखा पर्छन्। पहिलो, उल्लेख्य मात्रामा क्षति हुनेगरी घटना भएको अवस्थामा र दोस्रो, प्रकोपसम्बन्धी सभा, बैठक हुँदा तथा जलस्रोत विकाससम्बन्धी नीति र योजनाको प्रसंग आउँदा। अन्यथा पत्रिकामा प्रकोपका सामाग्रीले ज्यादै कम स्थान पाउछन्। पीडितको छटपटी, राहत उद्धारको प्रयास, बाढीपहिरो रोकथामका लागि दौडधुप, उपायको खोजी, सडक यातायात अवरुद्ध हुँदा आइपरेका समस्या, आदि प्रकोपका समाचारसँग जोडिएर आउने गरेका छन्। वर्षायामको अन्त्यसँगै यस्ता समाचार आउने क्रम बन्द हुन्छ र अर्को मनसुन सुरु नभएसम्म यस क्षेत्रको रिपोर्टिङ अपवादको रुपमा देखा पर्छन्। मनसुनपछिका महिनाहरूमा असिना, हिमपात, हुरीबतास जस्ता घटना भएको खण्डमा भने यससम्बन्धी चर्चा हुने गरेको छ।
000
नेपाल सरकारले जलवायु परिवर्तन नीति २०६७ लाई बदलेर राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ त बनाएको छ। नीति तथा कार्यक्रम हेर्ने हो भने आहा जस्तो लाग्ने यो नीति तथा कार्यक्रमहरू विस्थापित हुनुपरेका र विस्थापित हुनलागेका गाउँबस्तीमा भने कहिले पुग्ने हो यकिनका साथ भन्न सकिने स्थिति छैन।
६ महिनाअगाडि हेर्ने कथाको टिमले बनाएको पानी माग्ने कथा हेर्ने हो भने पनि पानीको अभावका कारण एउटा गाउँ कति पिल्सिएको छ भन्ने कुरा स्पष्ट देख्न सकिन्छ। गत मनसुनमा गाउँमा पानी नपरेपछि मानिसहरू देउतासँग पानी माग्नको लागि कहिले आफ्नो आँगन खन्छन् त कहिले झगडा गरेजस्तो प्रपन्च गर्छन् भनेर भिडियोमा देखाइएको छ। यसो गर्दा पानी नपाएर मानिसहरू आपसमा झगडा गरिरहेका छन् भन्ने बुझेर देउताले पानी पारिदिने जनविश्वास रहेको छ भनेर विद्या चापागाई र टिमले बनाएको उक्त डकुमेन्ट्रीमा देख्न सकिन्छ।
सिचाईको सुविधा नभएपछि आकाशे झरीको भरमा खेतीपाती गर्न तम्सिएका थारु र चौधरीहरू सबै मिलेर पानी नपर्दाको दुखलाई देउता रिझाउने प्रयास भन्दै मन भुलाउन खोजेको जस्तो देखिन्छ।
उसो त कहिले भ्यागुताको बिहे गराइदिने त कहिले रोएर वा विभिन्न किसिमका पूजापाठ गरेर आकाशका देवतासँग पानी माग्ने प्रचलन हाम्रो देशमा नभएको होइन। मानिसहरूले मानिआएको परम्परा र अन्धविश्वासले भरिपूर्ण यी चालचलनको कुरा एउटा होला, तर भ्यागुताको बिहे गरिदिएर होस् वा रोएर कराएर पनि पानी नपाएपछि गाउँ छोड्नुपरेको कथा होस्, यहाँ दुख त जनजीवनसँगै जोडिएको छ।
राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ मा जलवायु परिवर्तनका प्रतिकूल असर तथा प्रभावको जोखिम रहेका पारिस्थितिकीय प्रणालीहरूको उत्थानशीलता विकास गर्ने, संकटासन्न र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्ति, परिवार, समूह र समुदायको जलवायु परिवर्तन अनुकुलन क्षमता अभिवृद्धि गर्ने लगायतका उद्धेश्यहरू उल्लेख गरिएको देख्न सकिन्छ।
000
हेर्ने कथाले नै बनाएको अर्को डकुमेन्ट्री कथा हो: पानीको कथा। पश्चिम सुर्खेतको पहाडी गाउँ रेक्चामा पानीको अभावबारे विद्या चापागाई र उनको टिमले बनाएको यो कथा हेर्ने हो भने मानिसहरू पानी बिना कति दु:खले आफ्नो दैनिकी बिताइरहेका छन् भन्ने कुरा पनि स्पष्ट देख्न सकिन्छ। विद्या चापागाईसँग त्यहाँका एक स्थानीय वृद्ध सोरठी भाका हाल्छन्:-
जता जता वर्षला पानी
उतै सुखी परानी
गीत गाउँदासमेत पानी नै सम्झेर गीत गाउनुपर्ने यो गाउँको कथा कम्ता कहालीलाग्दो छैन। एकाबिहानै आएर दुई जार पानी पिउनका लागि घर लगेका स्थानीयबासीहरू, खाना पनि नखाई वस्तुभाउलाई पानी पिलाउन लिएर आउँछन्। पानी पनि आँत भरिने गरी पिउन भने पाइँदैन। त्यही दुई जार पानीको पनि पैसा तिर्नुपर्छ पानीको चौकीदारी गर्ने मान्छेलाई: एक पाथी गहुँ।
पानी सुकेको बेला भने गाईगोरु हप्तामा एकचोटि मात्र पानी पिउन पाउँछन्। त्यो गाउँमा जातअनुसार कुवा छुट्याइदिइएको छ। जहाँ ठूलो जातका भनिनेहरू जाँदैनन्। र साना जातका भनिनेहरू ठूला जातले पिउने पानीको कुवा छोइदिँदैनन्। बढो गह्रौं स्वरमा एक स्थानीयबासी बोल्दै गरेका सुनिन्छन्:- ‘औँसी पूर्णेमा एक लोटा पानी शरीरमा हाल्यो भने हाल्यो नभए राम्रोसँग आंगको मयल फाल्न पाइँदैन।’ एक वर्षअगाडि हेर्ने कथाले आफ्नो युट्युबमा यो डकुमेन्ट्री हालेको छ।

सुर्खेतको रेक्चा गाउँ। तस्बिर: हेर्ने कथा
राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ ले आफ्नो रणनीति तथा कार्यक्रमहरूमा जलवायु परिवर्तनले पानीको उपलब्धता र पहुँचमा पार्ने असरलाई दृष्टिगत गर्दै जोखिमयुक्त क्षेत्र र बस्तीहरूमा पानीको सञ्चिती, बहुउपयोग र किफायती प्रयोग गर्ने विधिहरूको विकास र प्रवर्द्धन गरिनेछ, भूमिगत जलस्रोतको पुनर्भरण एवम् बहुउपयोगका निम्ति वर्षाको पानी संकलन गर्ने पोखरीहरूको निर्माण गरिनेछ भनेर लेखेको छ। तर माथि उल्लिखित हेर्ने कथाको दुवै डकुमेन्ट्रीहरू यही वर्षभित्र बनेका डकुमेन्ट्री हुन्। यस हिसाबले हेर्ने हो भने जलवायु परिवर्तन नीति २०७६, मन्त्रालयको कुन तखताको थन्किएको छ कुन्नि, भन्न सकिन्न।
000
वर्षौँको खडेरीको कारण पानीका मुहान सुक्न थालेपछि गाउँ छाडेर हिँडेकाहरू सपनामा आफ्नो पुरानो गाउँ देखेपछि झस्किएर ब्युँझदा हुन्। जीवनविहीन बुट्यानहरू आफ्नै जरासँग उभिनका लागि संघर्ष गर्दा हुन्। बञ्जर जमिन पानीको एक झर पर्खँदो हो। गाउँमा कुनै एनजीओ आईएनजीओको सहायतामा बनेका धाराहरू आफैँ पानीको पखाईमा हुदाँ हुन्। खोलानालाहरू सुकेका हुँदा हुन्। त्यही कतै थोरै पानीमा माछाहरू जीवनको उपाय खोज्दा हुन्। हिमाली भेगमा पाइने जडीबुटीहरू सम्भवतः उम्रनै छोडिसके होलान्। वन्यजन्तु पनि मानिसहरूजस्तै बसाइसराइ गर्दा हुन्।
असार २६, २०७६ मा कान्तिपुरमा प्रकाशित एउटा समाचार छ:- अत्यधिक वर्षाका कारण सिंहदरबारको पर्खाल भत्कियो। भत्किएको पर्खालले एक मानिसलाई सामान्य घाइते समेत बनायो। यो सिंहदरबार त्यही सिंहदरबार हो, जहाँ जलवायु परिवर्तन नीति २०७६ कतै थन्किएर बसेको छ तर पानीको अभाव वा अत्यधिक वर्षाका कारण गाउँहरू विस्थापित हुने क्रम भने निरन्तर बढ्दो छ।
000
खैर, तपाईँहरूलाई झरीसँग केही सोध्न मन छ कि छैन मलाई थाहा छैन। तर मलाई भने झरीसँग नुसरत फतेह अलि खानको कवालीको एउटा हरफ सापटी लिएर सोध्न मन छ:-
ए वादा सिकन ख्वाव दिखाना ही नही था
क्यों प्यार किया था जो निभाना ही नही था


