काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका छन्।
इजरायलका नेपालीहरूक उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहतलगायतका विषयमा राष्ट्रपति पौडेलले चासो व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका हुन्।
इजरायलको गाजा क्षेत्रमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूती प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।
राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।


