पोखरा– गण्डकी प्रदेशका ४ वटै संसदीय समितिका सभापतिहरूले शपथ लिएका छन्।
प्रदेश सभा निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाएका हुन्।
चार वटै संसदीय समितिका सभापतिलाई आइतबार सभामुख कृष्णप्रसाद धितालले सपथ ग्रहण गराएका हन्।
शनिबार भएको मनोनयनमा हरेक समितिका लागि एक/एक जनाको मात्र उम्मेदवारी परेको थियो।
अर्थ तथा विकास समितिको सभापतिमा कांग्रेसका भोजराज अर्याल, सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका सुधीरकुमार पौडेल, प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा कांग्रेसकै चम्पादेवी खड्का र सामाजिक विकास तथा कृषि समितिको सभापतिमा माओवादीका फणीन्द्र देवकोटालाई सभामुख धितालले सपथ ग्रहण गराएका हुन्।
यसअघि नै प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरुबीच कुन समितिको नेतृत्व कसले लिने भन्ने बारेमा भागबन्डा नमिल्दा समितिले सभापति पाउन ९ महिना लागेको थियो।
पछि भएको सहमति अनुसार कांग्रेसले २, माओवादी र एमालेले एक/एक समितिको नेतृत्व समालेका छन्।
प्रदेश सभामा रहने ४ वटा समितिको सदस्य साउन ३० गते नै टुंगो लागे पनि सभापति चयन हुन अर्को डेढ महिनाभन्दा बढी अवधि लागेको थियो।
४ वटा समितिमध्ये ३ वटामा १५/१५ जना सदस्य छन्।
एउटा समितिमा १३ जना सांसद छन्।
प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद गरी ६० सदस्य छन्।


