काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूमाथि एमालेका कार्यकर्ताले कालोमोसो दलेको आरोप लगाएका छन्।
सोमबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले दिउँसो होटल यल्लो प्यागोडा परिसरमा एमालेले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका हुन्।
आफूमाथि भएको दुर्व्यवहारको विषयमा मंगलबार बिहान साढे ८ बजे आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गरेका छन्।
प्रसाईंले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। सम्मेलन सकेर बाहिर निस्किने क्रममा उनीमाथि कालोमोसो दलिएको थियो।
कालोमोसो दल्ने समूहको पहिचान खुलेको छैन।
तर प्रसाईँले भने आफूमाथि भएको दुर्व्यवहारको जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेतले लिनुपर्ने बताएका छन्।
प्रसाईले कानुनी प्रक्रियामा नजाने तर पैँचो भने एमालेलाई तिर्ने चेतावनी दिएपछि एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले उनलाई पनि चेतावनी फर्काएका छन्।
युवा संघको तागत ननाप्न बस्नेतको चेतावनी छ।
‘बैंक तथा वित्तीय संस्थालाई चुनौति दिने, विभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन्,’ बस्नेतले चेतावनी दिए, ‘अब सुध्रिउँ, अरुलाई दोष नलगाउँ। यस्तालाई सरकारले कारबाही गरोस्। जन प्रतिरोध हुनु राम्रो होइन, युवा संघको तागत ननाप प्रसाई!’


