काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन्।
कामविशेषले इजरायल जानै पर्ने अवस्था भए परराष्ट्र मन्त्रालयसँग समन्वय गरी राजनीतिक रूपमा आधिकारिक निर्णय गरेर मात्र जान उनले आग्रह गरेका हुन्।
श्रम स्वीकृति लिएर बसेका व्यक्तिहरूलाई पनि इजरायल नजान मन्त्री साउदको आग्रह छ।
‘अवस्था संवेदनशील छ। त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,’ उनले भने।
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलबाट नेपाली नागरिकलाई स्वदेश फर्काउन विमान तयारी अवस्थामा राखिएको बताएका छन्। उनले इजरायलबाट नागरिकलाई स्वदेश फर्काउन विमान तयारी अवस्थामा राखिएको जनाएका हुन्।
इजरायलमा नेपाली नागरिकको अवस्था बारे जानकारी गराउँदै उनले नेपालीलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स तयारी अवस्था राखिएको बताए।
इजरायलमा रहेका २०० जनाभन्दा बढी व्यक्तिले नेपाल फर्कन अनलाइन रजिस्ट्रेसन गरिसकेको बताउँदै उनले सरकारले नेपाल फर्किन चाहनेलाई राजदूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ।
इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले वर्तमान अवस्थालाई राजनीतिकरण नगर्न समेत आग्रह गरे।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारले इजरायल जानका लागि अनुमति लिएको जानकारी दिएको छ। तर उनीहरूलाई इजरायल भने नजान आग्रह गरेको छ।
भिसासमेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो।
इजरायलमा शान्ति र सु व्यवस्था सामान्य भएपछि मात्रै वैदेशिक रोजगारसम्बन्धी थप कारबाही अघि बढाउन सरकारले अनुरोध गरेको हो।



