काठमाडौं- आन्दोलनरत स्थानीय तहका कर्मचारीका माग सम्बोधन संवाद र छलफलका माध्यमबाट हुने सरकारले दाबी गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भएकाले काममा फर्कन आग्रह गरेको हो।
कर्मचारी केन्द्रीय संघर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले दैनिक काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म नियमित प्रदर्शन समेत गर्दै आएको छ।
१५ असोजदेखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाज समेत रोक्दै आएका छन्।
मन्त्रालयले स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न सकारात्मक रहेको बताउँदै वार्तामा आउन आह्वान गरेको छ।



