काठमाडौं – विद्युतीय चुरोट (भेप)मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा चार जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको हो।
राहुलसहित चिनियाँ नागरिक दाओजिन वाङ, उनका सवारी चालक लोकेन्द्र पौडेल र दावा छिरिङविरूद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।
दावा यसअघि नै ६० किलो सुन प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका थिए।
भेपमार्फत् ल्याइएको सुनमा पूर्वसभामुख महरालाई भने प्रतिवादी बनाइएको छैन।
केन्द्रीय अनुसन्धान ब्युरोले तीन दिनअघि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।
महरासहितलाई आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले बताए।
राहुललाई पक्राउ गरी हिरासतमा लिएर प्रहरीले बयान लिएको थियो। उनका बुवालाई भने प्रहरीले बयानमा मात्रै बोलायो।
ब्युरो स्रोतका अनुसार राहुल पक्राउ पर्दा उनले प्रयोग गरेको मोबाइल दिएनन्। ‘उनी सामान्य खालको नयाँ मोबाइल लिएर आएका थिए, त्यही मोबाइल देखाए,’ ब्युरो स्रोतले भन्यो, ‘विगतमा बोक्ने गरेको मोबाइल उनले दिएनन्। प्रहरीले त्यो मोबाइल झिकाउन दबाब पनि दिएन।’
राहुलले प्रहरीलाई अनुसन्धानमा ‘असहयोग’ गरेको ब्युरो स्रोत बताउँछ।
