काठमाडौँ- इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ।
नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो। उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए।
उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए।
“इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन्।
परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए।

घटनामा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएका छन्।
एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको मन्त्री साउदले जानकारी दिए।
‘आक्रमणमा परी सम्पर्कबिहीन विपिन जोशीको खोजी निरन्तर जारी छ,’ उनले भने।
इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले बताए।

हाल तेल अबिबबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुटेका नेपालीहरुलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनको भनाइ छ।
परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकको उद्धार गर्न साथ दिइ ऐक्यबद्धता जनाउनुहुने सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरु, इजरायल सरकार तथा नेपाल सरकार, इजरायलको नेपालस्थित राजदूतावास र नेपालको इजरायलस्थित राजदूतावास जस्ता निकायहरु र विमान चालकदलका सदस्यलाई पनि धन्यवाद दिए।
उनीहरूलाई स्वागत गर्न पर्यटनमन्त्री सुदन किराँती र नेपालका लागि इजरायली राजदूत हनान गोडर पनि विमानस्थल पुगेका थिए।











—
