काठमाडौँ- नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि दबाब दिने उद्देश्यले ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।
नेपाली कांग्रेसका ८ जना र एमालेका ३९ जना गरी बहुमत सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेर दबाब सिर्जना गरेका हुन्।
‘केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ४७ सांसद सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका छौँ,’ एमाले सांसद रेवतीरमण भण्डारीले भने, ‘बिहीबार समर्थन गर्नेहरू फेरि अर्को हस्ताक्षर लिएर हामी उपस्थित छौँ।’
संविधान अनुसार केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिनुपर्छ भन्ने ध्यानाकर्षण गराउन हामीले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई पनि भेट्दै छौँ।
कार्कीलाई मुख्यमन्त्री बनाएर एमाले सरकारमा सहभागी भएर पूर्ण सहयोग गर्ने पनि भण्डारीले बताए।
कांग्रेसका केदार कार्कीले पार्टीमा विद्रोह गरी एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन्। कार्की कांग्रेसमा शेखर कोइराला निकट मानिन्छन्।
कांग्रेसले आधिकारिक रूपमा भने नेकपा माओवादीका सांसद इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको छ।
कार्कीले विद्रोह गरेपछि कांग्रेसमा विवाद छताछुल्ल भएको छ।


