विराटनगर- कोशी प्रदेशका सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।
मुख्यमन्त्रीमा दाबी गर्ने दुवै पक्षले ४७-४७ जनाको हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख परशुराम खापुङले दुवै पक्षका सांसदलाई बोलाएका हुन्।
एमाले ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कांग्रेस सांसद केदार कार्की र माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७-४७ जना सांसदले आफूलाई समर्थन गरेको भन्दै मुख्यमन्त्री पदमा नियुक्ति गर्न दाबी गरेका छन्।
शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि सनाखत गर्ने समय तोकिएपनि सांसदहरू सबै जना उपस्थित नभएकाले केही समय ढिला भए पनि सनाखत सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।
‘२०८०/६/२७ गते शनिवार बिहान ८:०० बजेदेखि दिउँसो २:०० बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ,’ शुक्रबार साँझ कार्यालयका प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न २०८० असोज २६ गते शुक्रवार अपरान्ह ५:०० बजेसम्मको समय दिएका थिए।
उक्त समयमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्कीले ४७ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी गरेका थिए। उनले विद्रोह गर्दै एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए। एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थन जुटाएर उनले दाबी गरेका छन्।
उता कांग्रेसले भने आधिकारिक रूपमा माओवादीका सांसद इन्द्र आङ्बोलाई समर्थन गर्ने निर्णय गरेको छ। उनलाई गठबन्धनको पनि साथ छ। उनको पक्षमा पनि ४७ जना नै सांसद रहेको दाबी गरिएको छ। तर त्यसमा आफूहरुको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै कांग्रेसका ८ सांसदले प्रदेश प्रमुखलाई निवेदन पनि दिएका छन्।
‘कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि कोशी प्रदेशसभा सदस्यहरू माननीय इन्द्र बहादुर आङ्वो र माननीय केदार कार्कीले ४७/४७ जना सदस्यहरूको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेको’विज्ञप्तिमा भनिएको छ।
यसको निर्क्योल अब सनाखतले गर्ने भएको छ। सनाखतमा ४७ जना सांसद पुर्याउने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्ने खापुङको तयारी छ।


